काठमाडौं, १३ भाद्र । सभामुख अग्नि सापकोटाले नेकपा एमालेले पार्टीबाट कारबाही गरी सांसद सदस्यबाट निष्कासन गर्न पत्राचार गरेका १४ सांसदलाई अभयदान दिनुभएको छ।
सभामुख सापकोटाले कारबाहीको लागि पत्राचार गरिएका सांसदहरु कानून बमोजिम अर्कै दल दर्ता गरी आएकाले कारबाही गर्नु नपर्ने निर्णय गर्नुभएको हो ।
प्रतिनिधि सभाका सचिव गोपीनाथ योगीले सभामुख अग्निप्रसाद सापकोटाले उनीहरूले निर्वाचनमा आयोगमा अर्कै दल दर्ता गरी आएकाले कारबाही गर्नु नपर्ने निर्णय गर्नुभएको जानकारी दिनुभएको हो।
एमालेले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिई ह्वीप उल्लंघन गरेको भन्दै माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेर संसदलाई भदौ १ गते नै जानकारी गराएको थियो।
तर सभामुख सापकोटाले कारबाहीका लागि लेखिएका तात्कालीन एमालेका वरिष्ठ नेता नेपाल लगायतका नेताहरुलाई अर्को दल दर्ता गरी निर्वाचन आयोगबाट मान्यता प्राप्त नभएसम्म कारबाही नचलाउने समझदारी अनुरुप यस मामिलामा निर्णय गर्न विलम्ब गर्दै आउनुभएको थियो ।
एमालेले नेपालसहित मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरू, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई ह्वीप उल्लंघनको आरोपमा कारबाही गरेको थियो।
निर्वाचन आयोगले नेपालको अध्यक्षतामा छुट्टै दल नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको र ती सांसदहरू नयाँ दलमा रहेको भन्दै संसद सचिवालयले कारबाही गर्न नपर्ने भनी निर्णय गरेको सचिव योगीले जानकारी दिए।
एमालेले भने सांसदहरूलाई कारबाही गर्न सभामुख सापकोटालाई निरन्तर दबाब दिदै आएको थियो।


















