धनगढी(कैलाली), १४ फागुन। प्रतिनिधिसभाको निर्वाचन जितेर पनि प्रमाणपत्र लिन नपाएका टीकापुर घटनाका फरार अभियुक्त रेशम चौधरीले जिल्ला अदालत कैलालीसामू आत्मसमर्पण गरेका छन् ।
उनी सोमबार जिल्ला अदालत कैलालीमा हाजिर भएका हुन् ।
फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टीबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका चौधरी भारी मतान्तरले विजयी भएका थिए ।
उनले चुनाव जितेको प्रमाणपत्र पाएका छैनन् ।
वारेसमार्फत विजयी भएको प्रमाणपत्र पाउनु पर्ने माग दावी सहित सर्वोच्चमा दिएको उनको रीटमा माग अनुसार आदेश भएन ।
७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित ७ सुरक्षाकर्मीको हत्या प्रकरणको मुख्य योजनाकार भएको दाबी गर्दै उनी विरुद्ध मुद्दा परेपछि उनी फरार छन् ।
घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेका अर्का थारु नेता लक्ष्मण चौधरी अहिले जेलमै छन् ।