काठमाडौं, २३ भाद्र । आज संघीय संसदको बैठक बस्नु पहिले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुकोको बैठक बस्ने भएको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्दैछ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताहरुको सहभागिता रहने बताइएको छ ।
एमसीसी संझौताको अनुमोदन, बजेट प्रतिस्थापन, संसदमा पेशभएका अध्यादेशहरु पारित गर्नका लागि आह्वान भएको संघीय संसदको यो अधिवेशनमा सत्तारुढ दल कुन ढंगले प्रस्तुत हुने हो त्यसबारेमा आजको बैठकमा साझा रणनीति बनाइने बताइएको छ ।
यस्तै संसदको लैजाने एजेन्डालगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संसद भवनमा बैठक बस्ने गरी संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।
आफूले अनुशासनको कारबाही गरेका सांसदहरु जसले नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गरेका छन्, तिनीहरु संसदमा उपस्थित भएमा आफूहरुले संसद अवरुद्ध पार्ने चेतावनी एमालेले दिइसकेको छ ।


















