Prakash Adhikari September 14, 2021

हेटौडा(मकवानपुर), २९ भाद्र । नेकपा एमालेबाट अलग भएर बनेको नेकपा(एकीकृत समाजवादी)ले संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई बागमती प्रदेशमा नयाँ सरकार गठन गर्नको लागि पहल थाल्ने जिम्मेवारी दिएको छ ।

एकीकृत एमालेमा रहदा अध्यक्ष केपी शर्मा ओलीको प्रखर आलोचक र वरिष्ठ नेता माधवकुमार नेपालको अत्यन्त निकट रहनुभएकी अष्टलक्ष्मी शाक्यलाई पार्टी विभाजनको संघारमा ओलीले मुख्यमन्त्री बनाईदिएपछि उहाँ एमालेमै टाँसिन बाध्य हुनुभएको छ । तर पार्टी विभाजित भएर नयाँ दल गठन भएपछि एकीकृत समाजवादीलाई भने आफ्नो अस्तित्व देखाउन एमालेका सरकारलाई विस्थापन गर्नै पर्ने भएको छ । यो जिम्मेवारी उत्साही युवा नेता राजेन्द्र पाण्डेले पाउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ । पार्टीको सोमबार बसेको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई दिएको नेकपा संसदीय दलले जनाएको छ ।

आज बसेको बैठकले दलको उपनेतामा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णप्रसाद खनाललाई चयन गरेको छ । खनाललाई मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकासमन्त्री बनाउनुभएको थियो । उहाँले निर्वाचन आयोगमा एकीकृत समाजवादी रोज्ने भन्दै सनाखत गर्नुभएको थियो भने त्यसको भोलिपल्ट मन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

आजको बैठकले प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईँलाई सर्वसम्मतरूपमा चयन गरेको नेकपा(एकीकृत समाजवादी) वाग्मती प्रदेशका नवनियुक्त सचेतक हुमागाईँले जानकारी दिनुभयो । संसदीय दलको हिजो बसेको पहिलो बैठकले राजेन्द्रप्रसाद पाण्डेलाई दलको नेतामा चयन गरेको थियो ।

उपनेतामा प्रमुख सचेतक 

नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलको उपनेतामा कृष्णप्रसाद खनाल चयन हुनुभएको छ । बागमती प्रदेश संसदीय दलको सोमबार  बसेको बैठकले प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा वसुन्धरा हुमागाईलाई चयन गरेको हो ।

त्यसैगरी बागमती प्रदेशमा गठवन्धन सरकार बनाउन नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेससँग समन्वय गर्नका लागि संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिने पनि बैठकले निर्णय गरेको बताइएको छ ।

गठबन्धन सरकार निर्माण भएपछि प्रदेशको सकारको तर्फबाट न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्नका लागि माधवप्रसाद पौडेल, वशन्त मानन्धर, मीना ज्ञवाली तथा वसुन्धरा हुमागाइँलाई जिम्मेवारी सुम्पिएको बैठकले निर्णय गरेको हो ।

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*