Prakash Adhikari September 14, 2021

काठमाडौं, २९ भाद्र । नेकपा एमालेको अवरोधको कारण प्रतिनिधिसभाको बैठक बजेट पारित नगरिकन असोज ४ गतेसम्मका लागि स्थगित भएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर सो बिनियोजन विधेयकमाथि छलफल गरी बजेट पारित गर्ने प्रकृयातर्फ नलागी सभामुख अग्निप्रसाद सापकोटाले असोज ४ गतेसम्मका लागि बैठक स्थगित गरिदिनुभएको छ ।

मंगलबारको बैठकमा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।

अहिले सरकार नेकपा एमालेको सरकारका तर्फबाट पारित गरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको र तात्कालीन अर्थमन्त्री विष्णु पौडेलबाट सार्वजनिक गरिएको अध्यादेशमा भएका व्यवस्था अनुरुप चलिरहेको छ ।

संसदको नियमित अधिवेशन प्रारम्भ भएको २ महिनापछि अध्यादेश स्वतः निस्क्रिय हुने भएकोले भाद्र ३० गतेदेखि एमालेको अध्यादेशको वैधता समाप्त हुन्छ ।

नेपालको संविधानमा अध्यादेशसम्बन्धी यस्तो व्यवस्था छ :

अध्यादेशः (१) संघीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेका अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नेछ ।
(२) उपधारा (१) बमोजिम जारी भएको अध्यादेश ऐन सरि मान्य हुनेछ
तर त्यस्तो प्रत्येक अध्यादेश,–
(क) जारी भएपछि बसेको संघीय संसदको दुवै सदनमा पेश गरिनेछ र दुवै सदनले स्वीकृति नगरेमा स्वतःनिष्क्रिय हुनेछ ,
(ख) राष्ट्रपतिबाट जनुसुकै बखत खारेज हुन सक्नेछ, र
(ग) खण्ड (क) वा (ख) बमोजिम निष्क्रिय वा खारेज नभएमा दुवै सदनको बैठक बसेको साठी दिन पछि स्वतः निष्क्रिय हुनेछ ।

स्पष्टीकरणः यस उपधाराको प्रयोजनका लामग “दुवैसदनको बैठक बसेको दिन” भन्नाले संघीय संसदका दुवैसदनको अधिवेशन प्रारम्भ भएको दिन वा बैठक बसेको दिन भन्ने संझनु पर्छ । र सो शब्दले संघीय संसदका सदनहरूको बैठक अघिपटि गरी बसेको अवस्थामा जुन सदनको बैठक पछि बसेको छ सोही दिनलाई जनाउँछ ।

सरकारले सो अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदमा पेश त गरेको छ तर पारित भएको छैन । सर्वोच्च अदालतले आषाढ २८ गते दिएको फैसला अनुरुप आषाढ ३० देखि संसदको संयुक्त अधिवेशन आह्वान भई बैठक बसेकोले भाद्र ३० गते ० दिन पुग्छ ।

यसैले केही दिन मुलुकमा सरकारी खर्च रोकिन सक्ने संभावना बढेर गएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले पनि केही दिन सरकारी खर्च रोकिने जोखिम भएको जानकारी दिइसक्नुभएको छ ।

 

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*