Prakash Adhikari September 14, 2021

काठमाडौं, २९ भाद्र । सर्वोच्च अदालतले नेकपा (एमाले)का सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई नेकपा (एकीकृत समाजवादी) मा जान सक्ने आदेश जारी गरेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले आज प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई रोजेको पार्टीमा आबद्ध हुन पाउने हकमा असर पर्ने गरी कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

आदेशमा भनिएको छ, “निवेदक सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) दलमा आबद्ध हुने गरी २०७८÷५÷८ गते निर्वाचन आयोगमा निवेदन गरी रोजेको आधारमा निजहरुको सो दलमा आबद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै काम कारबाही नगर्नु ।”

नेकपा (एमाले) का सांसद पाण्डे र भट्टले आफूलाई नेकपा (एकीकृत समाजवादी) को सांसदमा कायम गराउन माग गर्दै यही भदौ २३ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । रिट निवेदनमा आफूहरु एकीकृत समाजवादी पार्टीमा जान चाहेको तर निर्वाचन आयोगले सनाखत नगरेको र मुद्दाको किनारा नलागेसम्म नेकपा(एमाले) ले गर्न सक्ने कारबाही रोक्न आदेशको माग गरिएको थियो । अदालतको अन्तरिम आदेशसँगै एमालेका दुई सांसदलाई नेकपा (एकीकृत समाजवादी) पार्टीमा जान बाटो खुलेको छ ।

Share Now

Leave a comment.