Prakash Adhikari September 20, 2021

 

काठमडौं, ४ असोज । नेपालमा केही सातायता कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूको सङ्ख्या घट्न थालेको सरकारी तथ्याङ्कले देखाउँछ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार विगत एक सातामा दैनिक ७ सय ३४ देखि १ हजर ७ सय ६० को बीचमा नयाँ सङ्क्रमित थपिएका छन्।

विगत सात दिनमध्ये आइतवार सबैभन्दा कम ७ सय ३४ जना सङ्क्रमित फेला परेका हुन्।

दक्षिण एशियामा कुन देशको अवस्था कस्तो ?

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार दक्षिण एशियाली मुलुकमध्ये कोभिडबाट सबैभन्दा बढी सङ्क्रमित र मृत्यु हुने मानिस भारतका छन्।

त्यहाँ अहिलेसम्म ३ करोड ३४ लाख ४८ हजार १ सय ६३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ४ लाख ४४ हजार ८ सय ३८ जनाको कोभिडका कारण मृत्यु भएको तथ्याङ्क छ।

सो विश्वविद्यालयका अनुसार विगत २८ दिनमा भारतमा ९ लाख ९८ हजार ८ सय ८७ जना सङ्क्रमित थपिएका छन् भने १० हजार ८२ जनाको कोभिडबाट मृत्यु भएको छ।

भारतमा कुल जनसङ्ख्याको १४.५५ प्रतिशतले पूर्ण मात्रा कोभिड खोप लगाइसकेको तथ्याङ्क छ।

पाकिस्तानमा अहिलेसम्म १२,२६,००८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २७,२४६ जनाको मृत्यु भएको छ।

विगत २८ दिनमा त्यहाँ ९८,४२४ जनामा सङ्क्रमण फेला परेको छ र २,२४३ जनाको कोभिडबाट ज्यान गएको छ।

पाकिस्तानमा कुलमध्ये ११.०७ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्रा खोप लगाइसकेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार श्रीलङ्कामा हालसम्म ५ लाख ४ हजार ४ सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको छ भने १२ हजार १ सय २५ जनाको कोभिडका कारण मृत्यु भएको छ।

विगत चार सातामा त्यहाँ १ लाख १४ हजार ४ सय ९१ जना कोभिड सङ्क्रमित थपिएका छन् भने ४ हजार ७ सय ५९ जनाको मृत्यु भएको छ।

त्यहाँ कुल जनसङ्ख्याको ५०.३१ प्रतिशतले पूर्ण मात्रामा कोभिड खोप लगाएको तथ्याङ्क छ।

बाङ्ग्लादेशमा कुल १५ लाख ४२ हजार ६ सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २७ हजार २ सय २५ जनाको मृत्यु भएको तथ्याङ्क छ।

विगत २८ दिनमा त्यहाँ ८० हजार ६ सय ८५ सङ्क्रमित थपिएका छन् र कोभिडबाट १ हजार ९ सय २४ जनाले ज्यान गुमाएका छन्।

बाङ्ग्लादेशमा ८.८७ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्राको खोप लगाइसकको तथ्याङ्क छ।

नेपालमा कुल ८ लाख ७३ हजार ५ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ११ हजार ४० जनाको कोभिडबाट मृत्यु भएको छ।

सो विश्वविद्यालयका अनुसार विगत २८ दिनमा ३७ हजार १ सय ३३ र ५ सय ३१ जनाको कोभिडका कारण मृत्यु भएको छ।

नेपालमा कुल जनसङ्ख्यामध्ये १९.४४ प्रतिशतले पूर्ण मात्राको खोप पाइसकेको तथ्याङ्क छ।

अफगानिस्तानमा कुल १ लाख ५४ हजार ४ सय ८७ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ७ हजार १ सय ८६ जनाको कोभिडबाट मृत्यु भएको छ।

विगत चार सातामा त्यहाँ १ हजार ९ सय ७६ सङ्क्रमित थपिएका छन् भने १ सय १६ जनाको मृत्यु भएको तथ्याङ्क छ।

दक्षिण एशियामा अफगानिस्तानमै सबैभन्दा कम १.१३ प्रतिशतले मात्र पूर्ण मात्राको खोप लगाएको तथ्याङ्क छ।

माल्दिभ्समा सोमवारसम्म ८३ हजार ५ सय ७६ जनामा सङ्क्रमण पुष्टि भएको छ र २ सय २९ जनाको मृत्यु भएको छ।

विगत २८ दिनमा त्यहाँ ३ हजार ६ सय ३० नयाँ सङ्क्रमित फेला परेका छन् भने ६ जनाको मृत्यु भएको छ।

त्यहाँ कुल जनसङ्ख्याको ६२.१६ प्रतिशतले पूर्ण मात्राको कोभिड खोप लगाएका छन्।

दक्षिण एशियाली मुलुकमध्ये भुटानमा अहिलेसम्म सबैभन्दा कम २ हजार ५ सय ९७ जनामा सङ्क्रमण पुष्टि भएको छ भने तीन जनाको कोभिडबाट ज्यान गएको छ।

विगत चार साताभित्र त्यहाँ १२ जनामा सङ्क्रमण पुष्टि भएको र शून्य मृत्यु भएको तथ्याङ्क छ।

दक्षिण एशियाली मुलुकमध्ये भुटानमा कुल जनसङ्ख्याको सबैभन्दा धेरै अर्थात्‌ ६२.७६ प्रतिशतले पूर्ण मात्राको कोभिड खोप लगाइसकेका छन्।

सङ्क्रमण अवस्थाबारे के भन्छन् विज्ञ ?

सङ्क्रमण दर घटेको देखिए पनि केही दिनका तथ्याङ्कलाई हेरेर अहिले नै निष्कर्षमा पुग्न हतार हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल अनुसन्धान एकाइ प्रमुख डा. शेरबहादुर पुन बताउनुहुन्छ, ‘भाइरस उत्परिवर्तन भइरहने भएकोले सङ्क्रमण दर पनि घटबढ हुने गरेको पाइन्छ। त्यो भएर हामीले अझै पनि यो प्रवृत्तिलाई नजिकबाट नियाल्नुपर्ने हुन्छ।’

‘सिकिस्त नभएको खण्डमा परीक्षण नगराउने कतिपयमा प्रवृत्ति देखिएकोले पनि सङ्क्रमण दर कम देखिएको हुन सक्छ’, उहाँ थप्नुहुन्छ।

त्यसबाहेक कोभिड खोप लगाउने बढ्न थालेपछि सङ्क्रमित हुनेहरूको सङ्ख्या घटेको हुन सक्ने इपिडिमियोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी बताउँछन्। त्यसमा डा. पुन पनि सहमत देखिन्छन्।

खोपबारे विज्ञको बुझाइ के छ ?

कुल जनसङ्ख्याको धेरै प्रतिशतलाई खोप लगाउने दक्षिण एशियाली मुलुकमध्ये भुटान र माल्दिभ्सपछि तेस्रो स्थानमा रहेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ।

‘यसलाई सकारात्मक रूपमा नै लिनुपर्छ। खोप निरन्तर रूपमा आइरहेको पनि छ’, डा. पुन भन्नुहुन्छ।

यद्यपि खोप कार्यक्रमलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता डा. मरासिनी औँल्याउँनुहुन्छ।

‘सरकारले भनेझैँ असोजसम्ममा ३३ प्रतिशत जनसङ्ख्यालाई खोप लगाइसक्न चुनौतीपूर्ण देखिन्छ। त्यसका लागि थप खोप पनि लगाउनुपर्‍यो र जारी खोप कार्यक्रमलाई अझ व्यापक पनि बनाउनुपर्‍यो।’

झन्डै २२ लाख थप व्यक्तिलाई खोप दिनेगरी सोमवारबाट पुनः खोप अभियान थालिएको अधिकारीहरूले बताएका छन्।

यो अभियानपछि १३ वटा जिल्लामा १८ वर्षमाथिका सबैले पूर्ण खोप पाइसक्ने सरकारी भनाइ छ।

हालसम्म ६२ लाख जनाले पहिलो मात्रा र ५५ लाखभन्दा बढीले पूर्ण मात्रा खोप पाइसकेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ।(बीबीसी)

 

Share Now

Leave a comment.