Prakash Adhikari September 22, 2021

काठमाडौं, ६ असोज । बजेट होलिडेका कारण ओरालो प्रवृत्ति समातेको नेपालको धितोपत्र बजारले बुधबार उकालो प्रवृत्ति समातेको छ ।

यस दिन धितोपत्र बजार परिसूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमाथि पुगेको छ।

बुधबार धितोपत्र बजारका  २ सय १७ कम्पनीको १ करोड २१ लाख २२ हजार २ सय ९८ कित्ता शेयरको खरिदबिक्रीबाट  ६ अर्ब १७ करोड ९३ लाख १ सय ५८ रुपैयाँको कारोबार भएको छ।

बुधबार दुई दर्जन भन्दा बढी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने केहि म्युचुअल फण्ड र ऋणपत्रको मात्रै मूल्य केहि घटेको छ।

यस दिन उच्च दरले बढ्ने कम्पनीको शीर्ष स्थानमा बेष्ट फाइनान्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाइड्रोपावर, लिवर्टी इनर्जी र सिन्धु विकास बैंक रहेका छन्।

बुधबार अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै २३ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेश्नल हाइड्रोपावरको १८ करोड ४८ लाख, आरएमडिसि लघुवित्तको १६ करोड ९९ लाख, हिमालयन डिस्टिलरीको १५ करोड ४८ लाख, अपि पावरको १३ करोड २ लाख र महालक्ष्मी विकास बैंकको १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका सबै उपसमूहको सूचक सकारात्मक देखिएकमा छन्। जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ८.५४ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको ७.७४ प्रतिशतले बढेको छ।

बजार विश्लेषकहरुले बजारमा तरलताको संकट कम हुने सम्भावना देखिएपछि नेप्सेले उकालो यात्रा तय गरेको बताएका छन् ।  बजेट होलिडे रहे पनि मंगलबार बजेटसंबन्धी विधेयकहरु राष्ट्रिय सभामा पेश भएको र केही दिनमा पारित हुने संकेत देखिएपछि निरन्तर ओरालो लाग्दै आएको नेप्से मंगलबार केही र बुधबार उच्च अंकले बढेर उकालो लागेको हो  ।

दुवै सदनबाट बजेट पारित भएपछि सरकारी खर्च निकासा हुने र त्यो रकम बैंकिङ प्रणालीमा आउनुका साथै नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाले रिफाइनान्सको रकम ल्याउने प्रक्रिया थालेकाले तरलताको संकट कम हुने अनुमान गरिएको हो ।

तरतलाको अभाव हुन थालेपछि निरन्तर ओरालो लाग्दै आएको शेयर बजार विगत दुई दिनदेखि यता निरन्तर उकालो लाग्दै आएको छ ।

 

Share Now

Leave a comment.