जेनेभा(स्वीजरल्याण्ड), ८ असोज । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले वायु प्रदूषणको अवस्था पहिला सोचिएकोभन्दा खतरनाक रहेको चेतावनी दिएको छ।
उसले वायु प्रदूषण गराउने नाइट्रोजन डाईअक्साइडजस्ता मुख्य तत्त्वको अधिकतम सुरक्षित तह पनि घटाइदिएको छ।
डब्ल्यूएचओका अनुसार वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण विश्वभरि प्रत्येक वर्ष अनुमानित ७० लाख मानिसको अल्पायुमै मृत्यु हुने गरेको छ।
आर्थिक विकासका लागि जीवाश्म इन्धनमा निर्भर हुने भएकाले अल्प र मध्यम आय भएका देशहरू वायु प्रदूषणको सर्वाधिक मारमा पर्ने गरेका छन्।
डब्ल्यूएचओले वायु प्रदूषणलाई धूमपान र अस्वस्थ आहारकै श्रेणीमा राखेको छ।
नोभेम्बरमा हुन लागेको कोप २६ सम्मेलनअघि डब्ल्यूएचओले आफ्ना १ सय ९४ सदस्य राष्ट्रलाई उत्सर्जन घटाउन तथा जलवायु परिवर्तनको सम्बन्धमा काम गर्न आग्रह गरेको छ।
बुधवार प्रकाशित नयाँ निर्देशिकामा डब्ल्यूएचओले पीएम २.५ भनिने सूक्ष्म कणको अधिकतम मात्रा मात्रा पहिलाको भन्दा आधा घटाइदिँदै त्योभन्दा बढी भए त्यो हानिकारक हुने जनाएको छ।
त्यस्ता कणहरू ऊर्जा उत्पादनका लागि इन्धन बाल्दा र सवारीसाधनका इन्जिनले उत्पादन गर्छन्।
“अद्यावधिक निर्देशिकामा प्रस्ताव गरिएअनुसार विद्यमान वायु प्रदूषणको मात्रा घटाउन सकिए पीएम२।५ सँग सम्बन्धित झन्डै ८० प्रतिशत मृत्यु रोक्न सकिन्थ्यो,” डब्ल्यूएचओले भनेको छ।

वायु प्रदूषण
उसले पीएम १० भनिने सूक्ष्म कणको स्वीकार्य तह पनि २५ प्रतिशतले घटाइदिएको छ।
उक्त निर्देशिकामा ओजोन, नाइट्रोजन डाईअक्साइड, सल्फर डाईअक्साइ र कार्बन मनक्साइडलाई पनि हानिकारक प्रदूषकका रूपमा खुट्ट्याइएको छ।
कस्ता रोग ?
वायु प्रदूषणका कारण मुटुको रोग र स्ट्रोक हुन सक्छ।
बालबालिकामा प्रदूषित वायुले फोक्सोको विकास रोकिदिन सक्छ र नराम्रो किसिमको दम गराउन सक्छ।
“वायुको गुणस्तर सुधार गर्दा जलवायु परिवर्तन रोक्ने प्रयासलाई प्रश्रय दिन सक्छ तथा उत्सर्जन रोक्दा वायुको गुण सुधार हुनसक्छ,” डब्ल्यूएचओले भनेको छ


















