Prakash Adhikari October 3, 2021

काठमाडौं, १७ असोज । उडिरहेको विमानमा कुनै प्राविधिक समस्या देखिएमा आकस्मिक अवतरणका लागि आवश्यक सम्पूर्ण पूर्वाधार अब पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उपलब्ध हुने भएको छ ।

यस्तो व्यवस्था हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा मात्र रहेको अधिकारीहरूले बताएका छन्।

तर निर्माणको अन्तिम चरणमा रहेको बताइएका पोखरा र भैरहवास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा त्यस्तो व्यवस्था उपलब्ध गराइने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

गत सोमवार विराटनगर र पोखराका लागि उडेका दुई वटा विमानमा प्राविधिक समस्या देखिएसँगै काठमाडौं फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको थियो।

तीमध्ये एकको अवतरणका लागि त्रिभुवन विमानस्थलमा बन्दोबस्तीका सामग्रीहरू तयारी अवस्थामा राखिएको थियो।

पछिल्लो घटनाले स्थल मार्गको एक मात्र भरपर्दो विकल्पका रूपमा अघि आएको बताइने हवाई मार्गमा आपत्‌कालीन अवस्था आइहाले ठूलै समस्या बन्ने देखाएको जानकारहरू बताउँछन्।

सामान्य अवस्थामा समेत काठमाडौंकै भर

राजधानी काठमाडौंबाट हवाई मार्ग हुँदै औसतमा ४० मिनेटमा विराटनगर विमानस्थल पुगिन्छ।

गत हप्ता बुद्ध एअरको एउटा जहाजले आकाशमा केही फन्को मारेर पुनः काठमाडौं फर्किनुपर्‍यो। काठमाडौंमा पनि इन्धन कम गर्नका लागि थप केही फन्को मारेपछि मात्रै उक्त विमान अवतरण भयो।

विराटनगरमा आकस्मिक अवतरणका लागि आवश्यक सम्पूर्ण पूर्वाधार नभएकाले त्यस विमानका पाइलटले काठमाडौं फर्कने निधो गरेको बताइएको छ।

बुद्ध एअरको उडान

बुद्ध एअरको उडान : काठमाडौं विमानस्थल माथि बुद्ध एअरको उडान नं यू४ ७०१ को उडानपथ

विराटनगर मात्रै होइन मुलुकका अन्य विमानस्थलमा पनि आपत्‌कालीन अवतरणका लागि पूर्वाधारको कमी रहेको अधिकारीहरू स्वीकार्छन्।

“हालसम्म ‘फोम’ सहितको आकस्मिक अवतरणको सुविधा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छ। त्यसै कारण जहाज अन्यत्रबाट ‘डाइभर्ट’ भएर काठमाडौं नै आउँछन”, नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले भन्नुभयो, “फाएर भेहिकलको सुविधा तराइका धेरै विमानस्थलहरूमा छ। पहाडमा पनि लुक्लामा, रारामा र सिमिकोटमा सानो फाएर भेहिकल छ। तर काठमाडौं सम्पूर्ण स्रोतसाधन भएकाले केही परे सबैले काठमाडौं नै रोज्ने गर्नुभएको छ।”

नेपालमा रहेका ५४ विमानस्थलमध्ये हाल ३४ वटा सञ्चालनमा रहेको बताइएको छ।

सामान्य व्यवस्था सबै विमानस्थलमा रहे पनि घटना अनुसार फरक फरक खालका सामग्री आवश्यक पर्ने र त्यसै अनुसार क्रमशः ती पूर्वाधार विस्तार गर्दै जाने क्रममा आफूहरू रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखा प्रमुख सहसचिव बुद्धिसागर लामिछाने बताउँनुहुन्छ ।

हवाई उडान

हवाई उडान
नेपालमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेकाले पनि त्यस्तो पूर्वाधार एक ठाउँमा मात्रै सीमित रहेको उहाँको भनाइ छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँ उड्ने अधिकतम ठूलो जहाजको क्षमता अनुसार आकस्मिक अवतरणका लागि चाहिने न्यूनतम मापदण्ड विमानस्थले पूरा गर्नुपर्ने उहाँ बताउँनुहुन्छ।

हाल नेपालमा आन्तरिक विमानस्थलहरू धेरै रहेको, नेपालमा ठूला जहाजहरू भित्रिएको पनि लामो समय नभएको र विगतमा विमान सङ्ख्या समेत धेरै नभएको अवस्थामा पूर्वाधारको अभाव पछिल्लो समयमा मात्रै खड्किन थालेको अधिकारीहरूको तर्क छ।

किन गरिन्छ आकस्मिक अवतरण ?
लामिछानेका अनुसार आपत्‌कालीन अवतरण विमान अपहरण पर्दा गर्नुपर्ने हुनसक्छ। तर यस्तो अवस्थामा विमान प्राविधिक रूपमा असुरक्षित नै भने हुँदैन।

‘यो अर्कै किसिमको आपत्‌कालीन अवस्था भयो। यसमा राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय अरू सुरक्षाका कुराहरू आउँछ’, लामिछानेले भन्नुभयो।

तर उडान समस्याको पाटो भने अर्कै हुन्छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

विमानमा प्राविधिक समस्या उत्पन्न भएको अवस्थामा पनि आकस्मिक रूपमा अवतरण गर्नुपर्ने हुन्छ।

त्यस्ता समस्यामा ल्यान्डिङ गियर नखुल्नु, तीव्र गतिमा आएको विमानको घर्षण धान्न नसक्ने अवस्था देखिनु, इन्धन ट्याङ्कमा समस्या आउनु, विङ्गमा आगो लाग्न सक्ने जस्ता समस्यालाई प्राविधिक आपत्‌कालीन अवस्थाका रूपमा हेरिन्छ।

र यस्तो अवस्थामा नेपालका लागि विकल्प एक मात्रै छ।

यी बाहेक थुप्रै समस्याहरू विमानमा देखिन सक्ने बताइन्छ। कतिपय अवस्थामा प्रतिकूल मौसमका कारण पनि आपत्‌कालीन रूपमा विमान अवतरण गराउनुपर्ने हुन्छ।

विमान काठमाडौं फर्कन सक्ने अवस्था नरहे के हुन्छ ?

सम्पूर्ण पूर्वाधार नभए पनि तुलनात्मक रूपमा केही ठूला विमानस्थलहरूमा सामान्य पूर्वाधारहरू उपलब्ध रहेको सरकारी भनाइ छ।

तर विमान काठमाडौं फर्कन सक्ने अवस्था नरहेको अवस्थामा भने सावधानी अपनाएर उपलब्ध विमानस्थलमा अवतरण गराउनुको विकल्प नरहने लामिछाने बताउँनुहुन्छ।

त्रिभुवन विमानस्थल

त्रिभुवन विमानस्थल

आपत्‌कालीन अवस्था परिआएको खण्डमा सकिने अवस्था रहेसम्म विमानलाई भारतका विमानस्थलहरूमा लगेर पनि अवतरण गराउन सकिने उहाँको भनाइ छ।

“हाम्रो अन्तर्राष्ट्रिय महासन्धि नै छ। त्यसले यस्तो आकस्मिक अवस्थामा उडान सुरक्षा र यात्रुको जीउधनको सुरक्षाका हिसाबले नजिकका कुनै मुलुकसँग अब भारत त हाम्रो नियमित सम्पर्क उडान हुने मुलुकै पर्‍यो।”,  लामिछानेले भन्नुभयो,”त्यस्तो नहुने मुलुकमा पनि आपत्‌कालीन अवतरण गर्न सकिन्छ।भारतको नजिकको सुविधा सम्पन्न विमानस्थलमा लगेर पनि आपत्‌कालीन अवतरण गराउन सकिने अवस्था हुन्छ।”

(बीबीसी नेपाली सेवाबाट)

 

Share Now

Leave a comment.