Prakash Adhikari February 28, 2018

काठमाडौं, १६ फागुन । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले स्वदेशी विदेशी दुवै लगानीलाई प्राथमिकता दिने कुरा बताएका छन् ।

अर्थमन्त्री खतिवडाले सो कुरा उनले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा उनलाई बधाई दिन आएको महासंघका पदाधिकारी र कार्यकारिणी समिति सदस्यहरू सम्मिलित प्रतिनिधिमण्डलसंग बताएका हुन् ।

सो अवसरमा नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रको सक्रियतामा नै देशले आर्थिक समृद्धि हासिल गर्ने भएकोले निजी क्षेत्रको सरोकारलाई सरकारले विशेष ध्यान दिने बताए ।

सो अवसरमा अर्थमन्त्री डा. खतिवडाले विगतमा पनि आफूले महासंघसँग नजिकमा रहेर कार्य गरेको स्मरण गर्दै आफूले पदवहालीको क्रममा व्यक्त पाँचवटा प्रतिवद्धतालाई सफल रूपमा कार्यान्वयन गर्न महासंघबाट समेत सहयोगको अपेक्षा गरेको बताए।

उनले समृद्धिको मूल आधार भनेकै निजी क्षेत्र हो भन्नेमा आफू विश्वस्त रहेको बताउनुदै साना तथा मझौला उद्योगहरू, पर्यटन, कृषि, पूर्वाधार विकासमा लगानी प्रवद्र्धन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने पनि उल्लेख गरे । उनले आर्थिक अनुशासन कायम गर्न आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पार ।

उनले समग्रमा उद्योग व्यवसायमा रहेका समस्याहरू पेश गर्न पनि प्रतिनिधिमण्डल समक्ष आग्रह गरेको थिए ।

महासंघको टोलीले अर्थमन्त्रीसमक्ष मुलुकको आर्थिक तथा औद्योगिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेको थियो ।

भेटवार्तामा महासंघका अध्यक्ष राणाले अर्थतन्त्रको अवस्था कमजोर भएको वेलामा विज्ञ अर्थमन्त्रीको पाउँदा निजी क्षेत्र अत्यन्त उत्साहित भएको र अर्थतन्त्रको सुधारको लागि मन्त्रालयले छिट्टै आशा लाग्दा कार्यक्रमहरू ल्याउने विश्वास व्यक्त गरेकी थिइन।

उनले महासंघका तर्फबाट केही दिन पूर्व प्रधानमन्त्रीसंग भएको औपचारिक भेटवार्तामा आर्थिक विकासका दिशामा लिइने नयाँ नीति र कार्यक्रमको बारेमा उल्लेख भएको र त्यसप्रति आफूहरू निकै आशावादी रहेको बताइन । अध्यक्ष राणाले निजी क्षेत्रको संलग्नतामा एक सल्लाहकार समूह गठन गर्ने प्रधानमन्त्रीको सदासयलाई सम्पूर्ण व्यवसायीले सकारात्मक रुपमा लिएको बताइन् ।

उद्योग मन्त्रीसंग पनि भेट

महासंघको प्रतिनिधि मण्डलले उद्योग मन्त्री मातृका यादवसंग पनि भेट गरी मुलुकभित्र औद्योगिक विकासमा योगदान पुर्याउन अनुरोध गरेको थियो ।

भेटवार्तामा उद्योगमन्त्री यादवले आफूले मुुलुकको औद्योगिक विकासको लागि सक्दो प्रयास गर्ने र महासंघ जस्ता उद्यमीहरूको संस्थासँग आफूले निरन्तर रुपमा नजिकमा रहेर कार्य गर्न उत्सुक रहेको बताए ।

उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र निजी क्षेत्र बीच निरन्तर सम्वाद सहकार्य गरेर अगाडी बढ्ने योजना रहेको पनि जानकारी दिए ।

सो अवसरमा महासंघका अध्यक्ष राणाले मुलुकभित्र औद्योगिक विकासको लहर ल्याउन उद्योगमन्त्रीबाट नेतृत्वदायी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेकीथिइन ।

महासंघका तर्फबाट वाणिज्य तथा आपूर्ति क्षेत्रसँग सम्बन्धित ऐन कानूनहरू समक्ष सापेक्ष रुपमा संशोधन हुन समेत माग गरिएको थियो ।

प्रतिनिधि मण्डलमा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरु, महासंघका महासचिव सुरेशमान श्रेष्ठ सहभागी लगायत सहभागी थिए ।

Share Now

Leave a comment.