काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले बुधबार दिउसो केन्द्रीय सदस्य र संघीय संसदका सांसदहरुका लागि आयोजना गरेको दिवाभोजमा कांग्रेसका तीन नेताले संसदीय दलको नेतृत्व लिने इच्छा प्रकट गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई स्वभाविक ढंगले संसदीयदलको नेतामा प्रस्तुत गरेका थिए। ‘लन्च मिटिङ’मा देउवाले आफू नै संसदीय दलको नेता हुने दाबी पनि गरे।
उक्त मिटिङपछि पत्रकारसँग कुरा गर्दै देउवाले आफू नै संसदीय दलको नेता हुने बताएका हुन्।’म नै कांग्रेस संसदीय दलको नेताको उम्मेदवार हुँ’ देउवाले बडो आत्मविश्वासका साथ भने, ‘नेता पनि मै हुँ।’
वर्तमान सभापतिले पार्टीको संगठन सबल बनाउन र सञ्चालन गर्न नसकेको आरोप लगाउदै आएका पार्टीका केन्द्रीय सदस्य तथा पूर्व महामन्त्री प्रकाशमान सिंह संसदीय दलको नेतामा आफ्नो दाबेदारी कायमै रहेको बताए।उनले आफू निर्वाचन लडेरै छाड्ने दावी गरे ।
दिवा भोजका आयोजक शशांक कोइरालाले आफ्नो प्रयास पार्टीमा सर्वसम्मतिले संसदीय दलको निर्वाचन गर्नेमा रहेको बताए । सर्वसम्मत भए आफैं दलको नेता हुने कुरा कोइरालाले बताउँदै आएका छन्।
फागुन २१ गते हुने पार्टी संसदीय दलको नेताको चुनावका लागि फागुन २० गते उम्मेदवारी दिने मिति किटान गरिएको छ ।
महामन्त्री कोइरालाले संसदीय दलको नेताको निर्वाचनको मुखैमा केन्द्रीय सदस्य र संघीय संसदका सांसदहरुलाई टोखास्थित निवासमा ‘लञ्च मिटिङ’को लागि बोलाएका थिए।
सामबार कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि संघीय संसदका नवनिर्वाचित सांसदहरुको सम्मानर्मा चियापान कार्यक्रम आयोजना गरेका थिए ।
पार्टीको संस्थापन विरोधी समूहले निर्वाचनमा पार्टी पराजित भएकोले पार्टी सभापति संसदीय दलको नेता बन्न नहुने आवाज उठाइरहेको छ।
तर संसदीय दलमा बहुमत सांसदहरु आफ्ना समर्थक देखिएकोले पार्टी सभापति देउवा संसदीय दलको नेतृत्व छाड्ने मनस्थितिमा देखिएका छैनन् ।
पार्टीमा संस्थापन र गैर संस्थापन वा सिंगो पार्टीको समेत उत्तराधिकारी नजर नआएको बेला अधिक दबाव परेमा सर्वसम्मतिले संसदीय दलको नेतामा नयाँ अनुहार ल्याउन पर्ने भएमा कुनै आन्तरिक सहमति कायम गरी महामन्त्री शशांक कोइराला सबैको साझा उम्मेदवारको रुपमा प्रस्तुत हुने देखिन्छन् ।
वीपीका कान्छा सुपुत्र अरु सक्रिय भएमा कसैले पनि असुरक्षित र पराई वा टाढाको अनुभव भने गर्नुपर्ने देखिदैन ।




















