कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतको नेतृत्वमा कांग्रेस नेताहरू भारत जाने
काठमाडौं, २० असोज । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा एक प्रतिनिधि मण्डल भारत जाने भएको छ ।
पूर्वपरराष्ट्र मन्त्रीसमेत रहनुभका महतसहित कांग्रेस नेताहरू उदयशमशेर राणा र अजय चौरासिया बिहीबार दिल्ली जाने कार्यक्रम तय भएको छ । कांग्रेसका नेताहरू बिहीबारदेखि चार दिन नयाँदिल्लीमा रहनुहुने छ ।
उहाँहरु भारतको सत्तारूढ दल भारतीय जनता पार्टीको विदेश विभागको निमन्त्रणामा दिल्ली जाने कार्यक्रम तय भएको हो ।
दुई देशका लोकतन्त्रप्रति प्रतिबद्ध राजनीतिक दलहरुको सम्बन्ध मजबूत बनाउने उद्देश्यले यो भ्रमण हुन लागेको नेपाली कांग्रेसले जनाएको छ।
प्रतिनिधिमण्डलले भाजपा अध्यक्ष जेपी नड्डा, राष्ट्रिय महासचिव अरुण सिंह र वैदेशिक मामिला विभागका प्रमुख चौथाइवाले र भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्ने कार्यक्रम रहेको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री महतको निमन्त्रणामा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले गत भदौमा नेपाल भ्रमण गर्नुभएको थियो ।
पाँच दिन नेपाल रहनुभएका चौथाइवालेले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी(का अध्यक्ष माधवकुमार नेपालसहित अधिकांश राजनीतिक दलका नेता तथा उच्च सरकारी अधिकारीहरुलाई भेट गर्नुभएको थियो ।
भ्रमणको क्रममा प्रधानमन्त्री पत्नि आरजु राणाले चौथाइवालेलाई रक्षा बन्धनको राखी पनि लगाइदिनुभएको थियो ।
नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि कांग्रेसका नेताहरूको यो पहिलो औपचारिक दिल्ली भ्रमण हो।


















