काठमाडौं, २१ असोज । पोखरा राइनोज बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाईनलमा प्रवेश गरेको छ।
बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्सलाई ७ विकेटले पराजित गर्दै पोखरा राइनोज ईपीएलको फाईनल पुगेको हो ।
यो नतिजासंगै दोस्रो र तेस्रो संस्करणको उपविजेता भैरहवा भने बाहिरिएको छ।
पोखराले अब उपाधिका लागि शनिबार उपाधिका लागि चितवन टाईगर्ससंग खेल्नेछ । पहिलो क्वालिफायरमा पोखरालाई नै हराएर चितवन फाईनल पुगिसकेको छ ।
आजको खेल्
भैरहवाले दिएको १ सय २० रनको लक्ष्य पोखराले १८.२ ओभरमा ३ विकेट गुमाएर १ सय २३ रन बनाउँदै पूरा गर्यो। पोखराको जितमा साहान अराचचिगेले अर्धशतक बनाए ।
खेलमा साहानले ५३ रन बनाए भने विपिनले अविजित ४० रन बनाए । ओपनर रिचर्ड लेची १४ रन बनाएर रनआउट भएका थिए ।
भैरहवाका भुवन कार्कीले ३ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर २ विकेट लिए ।
भैरहवाको खेल
त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय खेल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो।
भैरहवाको लागि कप्तान शरद भेषावकरले अविजित रहँदै सर्वाधिक ३२ रन बनाए भने आरिफ शेखले २७ रन जोडे ।
सिजनमा पहिलो पटक ओपनिङ गरेका रोहित पौडेलले १८, प्रदिप ऐरीले ११ र उपुल थरंगाले १० रन बनाए ।
भैरहवालाई रोक्न पोखराका किशोर महतो र साहान अराचचिगेले २ । २ विकेट लिए भने नन्दन यादव र असेला गुनारत्नेले समान १। १ विकेट लिए ।


















