क्यालिफोर्निया(संयुक्त राज्य अमेरिका),२४ असोज (बीबीसी)।’हामी निश्चित रूपमा सही स्थानमा छौँ।’
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको मङ्गल ग्रह मिसन पर्सिभिअरन्स सञ्चालन गरिरहेको वैज्ञानिक टोलीमा अहिले राहत महसुस गरिरहेका छन्।
उनीहरू पर्सिभिअरन्सलाई मङ्गल ग्रहमा जीवन रहेको सङ्केत खोज्न उपलब्धमध्ये उत्कृष्ट स्थानमा पठाइएकोबारे ढुक्क बनेका छन्।
‘पर्सी’ उपनामले चिनिने पर्सिभिअरन्स गत फेब्रुअरीमा जेजेरो क्रेटरमा उत्रिएको थियो र त्यसयता सो उपकरणले त्यहाँ वरपरका हजारौँ तस्बिरहरू खिचेर पृथ्वीमा पठाएको छ।
ती तस्बिरहरूको विवरण यो साता प्रकाशित साइन्स म्यागाजीनमा छापिएको एउटा वैज्ञानिक लेखको प्रमुख अंश हो।
ती तस्बिरहरूले कुनै बेला पश्चिमबाट आउने नदीको पानीमा आधारित ठूलो ताल रहेको पुष्टि गरेका छन्। सो ताल आजभन्दा साढे तीन अर्ब वर्ष पहिले मङ्गल ग्रहमा रहेका थियो।
पर्सिभिअरन्सले खिचेको तस्बिरले जहाँ नदीको पानीले तालको पानीलाई भेट्थ्यो त्यहाँ नदीको पानीको बहाव कम भएर पृथ्वीमा जस्तै भूआकार बनेको देखाउँछ।
त्यस्तै वातावरणमा सूक्ष्म जीवहरू हुने हुँदा त्यहाँ तिनका रासायनिक अवशेष बाँकी रहेका हुन सक्छन्।
‘मानिसहरूले मलाई सोध्छन् : ‘त्यसो भए के तरु हामीलाई त्यहाँ त्यस्तो भूआकार छ भन्ने पहिल्यै थाहा थिएन र? वास्तवमा हामीलाई त्यो थाहा थिएन। भूउपग्रहका तस्बिरहरूले त्यहाँ त्यस्तो भूआकार रहेको देखिए पनि जमिनमा नउत्रिएसम्म त्यो पक्का कुरा थिएन’,इम्पिरियल कलेज लन्डनका प्राध्यापक सञ्जीव गुप्ताले बताउनुभयो।

कोडियक थुम्को
उहाँले भूउपग्रहबाट देखिएको भूआकार बाढीले बनाएको पनि हुन सक्ने र त्यसमा जीवनको सङ्केत खोज्न नसकिने बताउनुभयो। यदि मङ्गल ग्रहमा कुनै बेला जीव रहेको भए ती बाढीले बनाएको स्थानमा भन्दा पनि नदीले बनाएको शान्त स्थानमा भेटिने उहाँको कथन छ।
पर्सिभिअरन्स त्यो भूआकारबाट दुई किलोमिटर जतिको दूरीमा रहेको भए पनि त्यसको टेलिस्कोप दृष्टिले देखिने तस्बिरले धेरै कुरा देखाउने बताइएको छ।
वैज्ञानिकहरू कोडियक नाम दिइएको एक्लो थुम्कोको तस्बिरले उत्साहित छन्। सो थुम्कोको तस्बिरमा माटोको विभिन्न तहहरू स्पष्ट देखिन्छ।
ती तहहरू नदीको थेग्राएको माटोबाट बनेको स्पष्ट देखिने वैज्ञानिकहरू बताउँछन्।

पर्सिभिअरन्स
कोडियकको माथिल्लो तह भने ठूला डल्लाहरूले बनेका छन् जसले सो तालको अन्तिम अवस्थातिर बाढी जस्ता घटना भएको सङ्केत गर्छ।
‘जल प्रणालीमा केही परिवर्तन भएको देखिन्छ। त्यो जलवायु सम्बन्धित थियो कि थिएन, हामीलाई थाहा छैन’, गुप्ताले भने।
‘तर ती डल्लाहरू त्यहाँ हुन बाढी जस्तो केही घटना हुनुपर्छ। नदी प्रणालीमा कहीँ हिमताल थियो कि जसले जेजेरोमा बाढी पठायो।’
‘पृथ्वीको हिमालयतिर यस्तो देखिन्छ’,प्राध्यापक गुप्ताले भने।
पर्सिभिअरन्सलाई अब कोडियक भएको स्थानमा पठाएर अध्ययनका लागि त्यहाँको माटो झिकिने छ।

पृथ्वीमा नदीले बनाएको भूबनोट
पर्सिभिअरन्सले दुई दर्जनभन्दा बढी स्थानबाट चट्टानका नमुना सङ्कलन गर्ने छ र ती नमुना सन् २०३० को दशकमा पृथ्वीमा ल्याइने छ।
ती नमुनाको अध्ययनबाट वैज्ञानिकहरूले मङ्गल ग्रहमा कुनै बेला जीव थियो वा थिएन भन्ने कुराको निर्क्योल गर्नेछन्।
सो नमुना युरोपेली अन्तरिक्ष मिसनको यानले पृथ्वीमा ल्याउने योजना छ। ब्रिटेनमा बनाइएको उपकरणले ती नमुना पर्सिभिअरन्सले राखेको स्थानबाट सङ्कलन गरेर रकेटसम्म पुर्याउने छ जुन रकेट मङ्गल ग्रहको सतहबाट प्रक्षेपण गरी भूउपग्रहमा पुग्नेछ।X
त्यो भूउपग्रहबाट सो नमुना पृथ्वीमा ल्याइने बताइएको छ।
‘हामी मङ्गल ग्रह अन्वेषणको सबैभन्दा रोमाञ्चक अवस्थामा प्रवेश गर्दै छौँ ‘, यूके अन्तरिक्ष एजेन्सीकी सु हर्नले भनिन्।
‘चाँडै नै मङ्गल ग्रहको नमुना परीक्षण गर्ने सपना साकार हुँदै छ। नमुना सङ्कलन गर्ने उपकरणको परीक्षण अर्को महिना हुँदै छ।’


















