Prakash Adhikari October 11, 2021

 

काठमाडौं, २५ असोज । नेपाल प्रहरीले मुख्य चाड दशैँ र तिहारलाई ध्यानमा राखी विशेष सुरक्षा कार्ययोजना कार्यान्वयनमा ल्याइएको जनाएको छ।

दशैँको चहलपहल शुरू हुने नवरथादेखि सुरक्षा कार्ययोजना लागु गरिएको नेपाल प्रहरीका कार्यवाहक प्रवक्ता प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले बताउनुभएको छ।

यसपालि विशेष सुरक्षा कार्ययोजनामा कोरोनाभाइरस सङ्क्रमण फैलिन सक्ने गतिविधि र चोरी, लुटपाटका घटना नियन्त्रण तथा सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु चढाउन रोक्ने लगायतका विषय समेटिएको प्रहरीले जनाएको छ।

के छ त नेपाल प्रहरीको विशेष सुरक्षा कार्ययोजनामा ?
सार्वजनिक यातायात सम्बन्धमा

दशैँ र तिहारका बेला ठूलो सङ्ख्यामा मानिसहरू अस्थायी बसोबास हुने ठाउँ छोडेर घर जाने गर्छन्।

“मानिसहरूले टिकट पाउनेदेखि लिएर गाडी चढ्ने र गन्तव्यमा पुग्ने अवस्थासम्म सहजता होओस् भनेर प्रहरीको तैनाथी र सुरक्षा कार्ययोजना बनाएका छौँ “, लामाले भन्नुभयो।

विगतमा चाडपर्वमा खासगरी लामो दूरीमा चल्ने सवारीसाधनमा सीट क्षमताभन्दा बढी यात्रु चढाउँदा दुर्घटनाहरू भएका कैयौँ उदाहरण छन्।

सवारीसाधनमा भिडभाड नहोस् भनेर जाँच गर्नका लागि विभिन्न ठाउँमा प्रहरी र ट्राफिक प्रहरीको विशेष तैनाथी गरिएको उहाँले बताउनुभयो।

“गाडीमा भिडभाड भयो भने दुर्घटना हुन सक्ने भएकोले बाटामा पर्ने प्रहरी युनिटहरूलाई जाँच गर्न निर्देशन दिइसकेका छौँ भने ठाउँठाउँमा रहेका ट्राफिक प्रहरीको विशेष परिचालन गरिएको छ।”

नियमविपरीत सवारीसाधन चलाएको पाइएमा कानूनबमोजिम कारवाही गरिने भन्दै प्रहरीले सचेत गराएको छ।

“ट्राफिक नियमको बर्खिलाफ भए नियमानुसार कारवाही गर्ने जरिवाना तोक्ने आवश्यकताअनुसार होल्ड गर्ने काम पनि हामी गर्छौँ “, लामाले थप्नुभयो।

यातायात

यातायात

कोठाको सुरक्षा सम्बन्धमा
सङ्घीय राजधानीमा काम गर्दै आएका लाखौँका सङ्ख्यामा मानिसहरू ठूला चाडबाडका बेला उपत्यकामा आफ्ना कोठा बन्द गरेर घर जाने गर्छन्।

प्रहरीका अनुसार घरहरूमा मान्छे नभएको मौका पारेर यो बेला चोरीका घटना हुने सम्भावना बढी हुन्छ।

घर छोडेर जान लागेका मानिसहरूलाई राम्ररी जाँच गरी जान प्रहरीले आग्रह गरेको छ।

“घर राम्रोसँग बन्द भएको छ वा छैन, अरू सबै ठाउँ पनि बन्द गरिएको छ कि छैन हेर्नुहोस् र भलनर्बेल ठाउँ छ भने व्यवस्था गर्न हाम्रो आग्रह छ”, उहाले भन्नुभयो।

घरबेटी समेत नहुने गरी घरहरू खाली भएमा छरछिमेकीलाई हेर्नका लागि आग्रह गर्न प्रहरीले सुझाएको छ।

“त्यस्ता घरहरूलाई विशेष निगरानी गर्न प्रहरी परिचालन गर्ने हाम्रो विशेष कार्ययोजनामै छ। त्यो हामीलाई जानकारी भयो भने प्रहरीले नियमित रूपमा निगरानी गर्छ “, लामाले थप्नुभयो।

पसल

पसल

कोभिड नियन्त्रण सम्बन्धमा
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरसको दैनिक सङ्क्रमण दर अझै पनि पाँच प्रतिशतभन्दा माथि हुने गरेको छ।

प्रहरी नायब महानिरीक्षक लामाका अनुसार सङ्क्रमणको जोखिम कायमै रहेकोले बढी भिडभाड हुन नदिने विषयलाई पनि यो पटक प्राथमकितामा राखेको छ।

जनस्वास्वास्थ्यविद्‌हरूले पनि सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने लगायत जनस्वास्थ्यका मापदण्ड पालनामा लापरवाही नगर्न सुझाव दिइरहेका छन्।

उपभोक्ता अधिकारवादी के भन्छन् ?
मुख्य चाडबाडका बेला खासगरी सार्वजनिक यातायात व्यवस्थापनमा सरकारी निकायको प्रभावकारी हुन नसकेको उपभोक्ता अधिकारवादीहरू आरोप लगाउँछन्।

वस्तु र सेवाको क्षेत्रमा राज्यको लगभग उपस्थिति नै शून्यप्रायः रहेको उपभोक्ता अधिकारवादी ज्योति बानियाँ दाबी गर्नुहुन्छ।

“यातायात सेवाका कुरा गर्दा झन् मुख्य चाडबाडका बेला पुराना गाडीहरू चलाउने र क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्ति देखिने गरेको छ “, उहाँले भन्नुभयो।

ट्राफिक व्यवस्थापनबाहेक यातायात सेवाका अरू कुरामा ट्राफिक प्रहरीले भूमिका निर्वाह गर्न नसकेको उहाँको ठम्याइ छ।

(बीबीसी नेपालीबाट)

 

Share Now

Leave a comment.