Prakash Adhikari October 13, 2021

 

निरञ्जन राजवंशी 

 

काठमाडौं, २७ असोज । बङ्ग्लादेशसँग १-१ को बराबरी खेल्दै नेपाल दक्षिण एशियाली साफ फुटबलको फाइनलमा पुगेको छ।

नेपाल साफ फुटबल च्याम्पियनशीपको फाइनलमा पुगेको यो पहिलो पटक हो।

फाइनलमा स्थान निश्चित गर्न जित वा बराबरी चाहिएको नेपालले नवौँ मिनेटमै गोल खाएको थियो। सुमन राजाले हेडरमार्फत गरेको गोलपछि नेपालले बराबरी गोल फर्काउन ८६औँ मिनेट कुर्नुपरेको थियो।

नेपालका लागि अञ्जन विष्टले पेनाल्टीमा गोल गर्दै नेपाललाई फाइनलसम्म पुर्‍याए।

नेपालले फाइनलमा आयोजक माल्दिभ्स वा भारतको सामना गर्नेछ।

साफ च्याम्पियनशिपको २८ वर्षे इतिहासमा नेपाल पहिलो पटक फाइनलमा प्रवेश गरेको हो।

त्यसको लागि निकै तनाव खेपेको खेलको नेपालले ८६ औँ मिनेट पाएको पेनाल्टीमा गोल गर्दै बराबरी गरेको हो।

अञ्जन विष्टलाई पेनाल्टी क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीमा विष्टले नै गोल गरे ।

नेपाललाई त्यो एक गोल र एक अङ्क नै फाइनलमा पुग्न काफी थियो।

खेलको अन्तिम क्षणसम्म नेपाल एक गोलले पछि परेको थियो र हारको नजिक पुगिसकेको थियो।

बङ्गाली समर्थकहरू विजयको खुसीयालीमा नाच्न थालिसकेका थिए। तर माल्दिभ्सको राष्ट्रिय रङ्गशाला कथा कोर्ने पालो त नेपालकै थियो।

यो नतिजाको अर्थ नेपाल कुल सात अङ्कका साथ प्रतियोगिताको फाइनलमा पुगेको छ।

अञ्जन विष्टले राष्ट्रिय टोलीबाट गोल सङ्ख्या ७ पुर्‍याएका छन्।

Image

गोल

नेपाल आक्रामक मुडमा थियो।

टोलीले नवयुग श्रेष्ठ, अञ्जन विष्ट र आयुष घलान गरी तीन जना स्ट्राइकर राखेर खेल थालेको थियो।

रोहित चन्दलाई मिडफिल्डमा उकालेको थियो।

तर खेलको आठौँ मिनेटमा बाङ्ग्लादेशले सोचेको जस्तो दृश्य देखियो।

जमाल भुयाँले दायाँ छेउबाट प्रहार गरेको फ्रिकिक डिफ्लेक्ट हुँदै डिबक्स तिर झर्‍यो, जसमा अनमार्क रहेका सुमन रेजाले हेडबाट सेकेन्ड बार च्याप्दै गोल गरे।

खेलको सम्पूर्ण परिदृश्य त्यसपछि बदलियो।

बाङ्ग्लादेशले रक्षात्मक खेल्ने मुड देखायो। दबाव नेपाली पक्षमा पर्‍यो।

नेपालले विपक्षी पोस्टमा लगातार हमला गरिरह्यो, विपक्षीले त्यसलाई असफल पारी नै रहे।

Image

खेल बदल्ने रातो कार्ड

नेपालको आक्रमण झेल्ने क्रममा ७८ मिनेटमा बाङ्ग्लादेशका गोलकिपरले रातो कार्ड खान पुगे।

बल बचाउन डिएरिया लाइन बाट बाहिर निस्केर बल क्लियर गर्न आएका बङ्गाली गोलकिपर जिकोलाई अञ्जन विष्टले विट गरे।

उक्त बल जोगाउने क्रममा जिकोले हातले बल रोके। उनले निश्चित गोल हुनबाट नेपाललाई रोके तर रातो कार्ड खाएपछि बङ्ग्लादेश १० खेलाडीमा सीमित हुन पुग्यो।

१० खेलाडीविरुद्ध अझ दबाव थप्ने क्रममा नेपालले ८६ औं मिनेटमा पेनाल्टीको अवसर प्राप्त भएको हो।

Share Now

Leave a comment.