Prakash Adhikari October 20, 2021

काठमाडौं, ३ कार्तिक । झापाको गौरीगञ्ज गाउँपालिका–१ को होक्लाबाडी बस्ती चारैतिरबाट कनकाइको बाढीले घेरेपछि टप्पुमा परिणत भएको छ । बाह्य सम्पर्कबाट विच्छेदका अवस्थामा रहेको सो बस्तीका ८५ परिवारलाई हालसम्म उद्धार गर्न नसकिएको पालिकाका अध्यक्ष बाबुराज श्रेष्ठले बताउनुभयो ।

बस्तीमा जाने कज्वे बाढीले भत्काएपछि र सोही क्षेत्रमा रहेको काठको डुङ्गासमेत नदीले बगाएपछि उनीहरूलाई उद्धार गर्न नसकिएको उहाँको भनाइ छ । नदीले बिजुलीको खम्बासमेत बगाएपछि हाल होक्लाबाडी बस्ती अन्धकार भएको छ ।

बस्तीमा आफन्तकामा दसैँको टीका लगाउन विभिन्न स्थानबाट आएका करिब १०० जनासमेत रहेको उहाँले जानकारी दिनुभयो । सो क्षेत्रमा सुक्खा खानेकुरासमेत पु¥याउन सकिएको छैन । यद्यपि हालसम्म सबै जना सुरक्षित रहेका छन् ।

“चारैतिर कनकाइ नदीले घेरा हालेको छ । उद्धार गर्नसक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “अब पानी रह्यो बाढी पनि घट्छ होला । भोलि जसरी पनि उनीहरुको उद्धार गर्न पहल गर्नेछौँ ।” अध्यक्ष श्रेष्ठले बस्तीमा विशेष गरी सन्थाल, आदिवासी र बाहुन क्षेत्रीको बसोबास रहेको बताउनुभयो ।

झापामा सबैभन्दा बढी डुबानमा परेर विस्थापित हुनेमा पनि गौरीगञ्जकै बासिन्दा छन् । वडा नं १ कै धानगाडा, बिर्खेबस्ती, रङ्गियाथान र बालुवाडी र वडा नं २ को भाकुमाडीका गरी करिब २०० परिवार डुबानमा परेका छन् । जसमध्ये ७५ परिवारको भने उद्धार गरेर सामुदायिक वन, स्कूल र रेडक्रसको भवनमा राखिएको छ ।

 ३६१ परिवार विस्थापित

लगातार वर्षाका कारण जिल्लाका विभिन्न स्थानका ३६१ घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई सामुदायिक भवन, विद्यालय, रेडक्रस, चर्चलयागतका सुरक्षित स्थानमा सारिएको छ ।

कनकाई, विरिङ र मेची नदीमा आएको बाढी पसेर गौरीगञ्ज, झापा गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिकाका केही बस्ती डुबानमा परेका हुन् । डुवान क्षेत्रमा रहेका परिवारका सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकलाई सुरक्षाकर्मी र जनप्रतिनिधिले सुरक्षित स्थानमा सारेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनुभयो ।

अझै पनि आफ्नो सम्पतिको सुरक्षा नहुने भन्दै गौरीगञ्ज –१ होक्लाबाडीस्थित डुबान क्षेत्रका कतिपयले सुरक्षित स्थानमा जान नमानेपछि डुबान क्षेत्रमा बिहानैदेखि प्रजिअ तिम्सिनासहित, रेडक्रस झापाका सभापति लोकराज ढकाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सानुराम भट्टराई, सशस्त्र प्रहरी २ नम्बर गणका प्रहरी निरीक्षक रमेशकुमार पाण्डे, चारआली श्रीनाथ गणका गणपति अमरजङग थापालगायतको टोली पुगेको छ ।

टोलीले उनीहरुलाई सम्झाइबुझाइ गरेर सुरक्षित स्थानमा सार्ने र विस्थापित परिवारलाई चिउरा, दालमोठ, मुरै, बिस्कुटलगायतका खानेकुरा स्थानीय तहको समन्वयमा वितरण गर्ने काम गरिरहेको छ । “सुरक्षित स्थानमा सारिएका सबैलाई खाना पकाएर खुवाउने स्थिति छैन”, प्रमुख जिल्ला अधिकारी तिम्सिनाले भन्नुभयो, “पालिका आफैंले ड्राइफूडको व्यवस्था गरेर खाने व्यवस्था मिलाएको छ ।”
डुबान क्षेत्रमा पानीको मात्रा घट्दै गए पनि पहाडी क्षेत्रमा परेको पानीका कारण खोलानालामा पानीको बहाव नघट्दा समस्या भइरहेको उहाँले बताउनुभयो । उहाँले डुबान क्षेत्रका सबै परिवारलाई सुरक्षित स्थानमा सार्नुको तत्काल विकल्प नरहेको बताउनुभयो ।

बाढी पहिरामा परी ७७ को मृत्यु

विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको जनाइएको छ ।

गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ । प्राप्त विवरणअनुसार सबैभन्दा बढी पाँचथरमा पहिरामा परेर २४ को मृत्यु भएको छ । त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेका अनुसार कालिकोटमा एक, बैतडीमा चार, डडेलधुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्यूठानमा एक÷एक, धनकुटामा सात, मोरङमा एक, सुनसरीमा दुई र उदयपुरमा दुई जनाको मृत्यु भएको छ ।

उहाँका अनुसार बाढीरपहिरामा परेर बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । यस्तै जुम्लामा एक, प्यूठानमा दुई र इलाममा तीन जना बेपत्ता रहेका छन् ।

पाँचथरमा  २७ को  मृत्यु, दुई स्वास्थ्यकर्मीसमेत बेपत्ता

पाँचथरमा बाढी र पहिरामा परी हालसम्म २७ जनाको मृत्यु भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिकामा मात्रै बाढी र पहिरामा परी २१ जनाको मृत्यु भएको छ । यस गाउँपालिका– ५ कुरुम्बामा मात्रै हालसम्म १५ जनाको पहिराले पुरिएर मृत्यु भएको छ । उक्त गाउँपालिका– १, २, ४ र ७ मा गरी थप छ जनाको मृत्यु भएको हो ।

मिक्लाजुङ गाउँपालिकामै दुई जना स्वास्थ्यकर्मीलाई समेत पहिराले पुरेको छ । गाउँपालिका अध्यक्ष अमरराज माखिमका अनुसार पहिरामा परी घाइते भएका स्थानीयवासीको उपचारका लागि इलामको माङ्सेबुङ गाउँपालिकाबाट आएका दुई जना अहेबलाई समेत पहिराले पुरेको हो । “अहिलेसम्म उहाँहरूका छाता भेटिएको छ । पहिराले दुई जना अहेबसहित तीन जनालाई सोरेर लगेको छ”, अध्यक्ष माखिमले भन्नुभयो ।

निरन्तरको वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भएको र मानवीय तथा भौतिक क्षतिका विवरण आइरहेको अध्यक्ष माखिमले बताउनुभयो । जिल्लाको फाल्गुनन्द गाउँपालिकामा तीन जना, फिदिम नगरपालिकामा दुई जना र कुम्मायक गाउँपालिकामा एक जनाको पहिरामा परी मृत्यु भएको छ । बाढी तथा पहिराका कारण हालसम्म तीन जना बेपत्ता हुनुका साथै छ जना घाइते भएका छन् । निरन्तरको वर्षाका कारण मेची राजमार्ग, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, तमोर करिडोर सडकसहित जिल्लाका अधिकांश सडक क्षतिग्रस्त बनेका छन् । बाढी र पहिराले सयौँको सङ्ख्यामा घर, गोठ तथा सार्वजनिक भवनमा क्षति पु¥याएको छ । पाँचथर, तेह्रथुम र धनकुटाको सिमानामा अवस्थित नावा खोलामा रहेको अस्थायी प्रहरी चौकी बाढीले पुरेको छ ।

जिल्लामा क्षतिको थप घटना टेलिफोन अवरुद्ध हुँदा बाहिर आउन सकेका छैनन् । सडक अवरुद्ध हुनाले उद्धार कार्यसमेत जटिल बनेको छ । जिल्लामा सयौँ घर क्षतिग्रस्त हुँदा स्थानीयवासी विस्थापित बनेका छन् । सुक्खाग्रस्त क्षेत्रका रुपमा रहेका जिल्लाको कुम्मायक र तुम्बेवा गाउँपालिकामा समेत वर्षाका कारण बाढी र पहिरो गएको छ । तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाका अनुसार केही घर पहिराले पुरेको छ भने बाढी र पहिराका कारण एक दर्जन बढी परिवार विस्थापित बनेका छन् ।

कर्णालीमा आठको मृत्यु, ३०० बढी नागरिकलाई सुरक्षित स्थानमा सारियो

आइतबार साँझदेखिको अविरल वर्षात्का कारण आएको बाढीपहिरामा परी कर्णालीमा हालसम्म आठ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार बाढी–पहिरामा परी मृत्यु हुनेमा हुम्लाको खार्पुनाथ गाउँपालिका–४ खर्पेलगाउँका एकै परिवारका छ जना, जुम्ला र कालीकोटका एक÷एक रहेका छन् ।

प्रदेश प्रहरी कार्यालय प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले बाढीपहिराबाट तीन जना घाइते भएको र एक जनाको सकुशल उद्धार गरिएको जानकारी दिनुभयो । घाइते हुनेमा कालीकोट रास्कोट नगरपालिका–८ पलातीवाडाका ६३ वर्षीय नन्दु न्यौपाने र उहाँकी १३ वर्षीया छोरी बाचु न्यौपाने रहेका छन् । गोठबाट घर जाने क्रममा पहिरामा परी घाइते हुनुभएका उहाँहरूका रास्कोट अस्पतालमा उपचार भइरहेको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका–११ स्थित कुइनेमा कर्णाली नदीले बगाएका सोही ठाउँका ४८ वर्षीय गङ्गाप्रसाद जैशीको आज सकुशल उद्धार गरिएको छ । चार किमी तल नदी किनारमा फेला परेका जैसी बाबियौचारमा उपचारपछि घर फर्किएको प्रहरीले जनायो ।

त्यस्तै अविरलको वर्षात्ले बाढी–पहिराका कारण जोखिममा रहेका ३०० बढी नागरिकलाई सुरक्षित स्थानतर्फ सारिएको छ । कर्णाली नदीको बहाव बढेपछि जोखिममा रहेका पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–४ झालाका ११ घरधुरीका ७९ जना परिवारलाई शिवालय माध्यमिक विद्यालयमा सारिएको प्रदेश प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कालीकोटको राम्नी बस्तीका २५० जनालाई स्थानीय विद्यालय र स्वास्थ्यचौकीमा सारिएको छ । दैलेखको रामघाट बजार डुबानमा परेको छ । आठबीस नगरपालिका–१ मा अवस्थित उक्त बजारमा कर्णाली नदी पसेपछि स्थानीयवासीको सहयोगमा प्रहरीले २२ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।

बेमौसमी बाढीले जुम्ला, दैलेख र सुर्खेतमा धानबालीमा ठूलो क्षति पु¥याएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी–पहिराबाट कालीकोट, जुम्ला र मुगुमा गरी सात गाई–गोरु र १३१ भेडाबाख्रा मरेका छन् । जुम्लामा मार्सी धानको खेतबारी नै तिला नदीले कटान गरेको छ ।

बाढीले बगाएका एक जनाको सकुशल उद्वार

कर्णाली नदीको बाढीमा बगेका एक जनाको सकुशल उद्वार गरिएको छ । पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका–११ स्थित कुइनेमा कर्णाली नदीले बगाएका सोही ठाउँका ४८ वर्षीय गङ्गाप्रसाद जैशीको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

सुर्खेतको कुइनेबाट कैलाली जोड्ने निर्माणाधीन पक्की पुलका चौकीदार रहनुभएका जैसीलाई आज बिहान झण्डै चार किमी टाढा बाढीले बगाएको थियो । प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद श्रेष्ठले बाढीले बगाएका सामान व्यवस्थापन गर्ने क्रममा उहाँलाई बगाएको बताउनुभयो । बाढीले बगाएर बेपत्ता बनाएपछि अस्थायी प्रहरी चौकी तातापानीबाट छ जना प्रहरी टोली उद्धारका लागि खटिएको थियो । “प्रहरी र स्थानीयवासीले खोजतलास गर्दा चार किमी तल झ्याङझ्याङ्गे भन्ने स्थानमा फेला पर्नुभयो, बाबियाचौरस्थित मेडिकलमा उपचारपछि उहाँ अहिले घर फर्कनुभएको छ”, प्रहरी प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

बाढी र पहिरामा परी प्रदेश १ मा ६१ को मृत्यु

गत सोमबारदेखि अविरल वर्षा हुँदा प्रदेश १ मा बाढी र पहिरामा परी ६१ जनाले ज्यान गुमाएका छन् । प्रदेश १ को पाँचथरमा सबैभन्दा धेरै २७ जना जनाले ज्यान गुमाएका छन् भने इलाममा १३ जनाको बाढी र पहिरामा परी मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरामा परी २१ जनाको मृत्यु भएको छ भने तीन बेपत्ता भएका छन् । मिक्लाजुङको कुरुम्बा–५ मा मात्रै १५ जनाको मृत्यु भएको छ ।

त्यस्तै सोही गाउँपालिकाको १ र २ मा चार जनाको मृत्यु भएको छ भने वडा नम्बर ४ रविका एक व्यक्तिलाई खोलाले बजाएर बेपत्ता बनाएको छ । मिक्लाजुङ गाउँपालिकालकै ७ नम्बर वडा लिम्मामा पहिरामा परी दुई जनाको मृत्यु भएको छ । मङ्गलबार राति पहिरामा पर्दा फिदिम नगरपालिका–४ का दुई जनाको मृत्यु भएको छ । पहिराकै कारण फाल्गुनन्द गाउँपालिकामा तीन जना र कुम्माय गाउँपालिमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यता इलामका विभिन्न स्थानमा आएको बाढी र पहिराले १३ जनाको ज्यान गएको छ । इलाममको फाकफोकथुङ गाउँपालिकामा सात जना, सूर्योदय नगरपालिकामा तीन जना, माङ्सेबुङ गाउँपालिकामा दुई जना, माइनगरपालिकामा एक जना र देउमाई नगरपालिकामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उता धनकुटामा पहिराले घर बगाउँदा सात जनाको मृत्यु भएको छ भने उदयपुरमा पहिरामा परी दुई जनाको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । बाढी र पहिरामा परी सुनसरीमा पाँच जनाले ज्यान गुमाएका छन् भने मोरङ र भोजपुरमा एक÷ एक जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

प्रदेश १ का धेरै स्थानमा विद्युत् सेवा अवरुद्ध भएकाले सम्पूर्ण विवरण प्राप्त हुन नसकिरहेको प्रहरीले जनाएको छ । पानी पर्नेक्रम अझै नरोकिएकाले प्रदेश १ का विभिन्न स्थानमा बढी र पहिरो गइरहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने प्रहरीले जनाएको छ । प्रहरीले वर्षा नरोकिएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई अपिलसमेत गरिरहेको छ ।

 २० घर भत्किए, १०० उच्च जोखिममा

आइतबार रातिदेखि परेको अविरल वर्षाले हुम्लामा २० घर भत्किएका छन् भने १०० घर उच्च जोखिममा परेका छन् । यहाँको सर्केगाड गाउँपालिका–१ को जैरमा छ घर भत्किएर पूर्ण क्षति भएको छ भने १० घरमा आंशिक क्षति गरेको वडाध्यक्ष गोकुल बुढाले जानकारी दिनुभयो ।

घरमा रहेका अन्नपात, भाडाकुडा, लत्ता कपडालगायत क्षति गरेको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो । घर भत्किए पनि मानवीय क्षति भने नभएको उहाँले जानकारी दिनुभयो । छ घर भत्किँदा करिब रु आठ लाख बराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो । सोही गाउँपालिकाको वडा नं २ को रिपगाउँमा अविरल वर्षाले एक घर भत्किएको छ भने लाखौँको क्षति भएको छ । यता सर्केगाड गाउँपालिका–४ साँयामा ११ घरमा क्षति गरेको बताइएको छ । अदानचुली गाउँपालिका–१ कल्खेमा तीनवटा घरमा पहिरोले क्षति गरेको छ । वर्षाका कारण वडा नं १ दशरथ महतारा, धनलाल भियाल र मानबहादुर महाताराको गरी तीनवटा घरमा क्षति गरेको बताइएको छ ।

यस्तै हुम्लाका विभिन्न स्थानीय तहमा रहेका १०० घर पहिराको उच्च जोखिममा छन् । जिल्लाको खार्पुनाथ गाउँपालिका–२ को थालीमा रहेका ५० घर पहिराको उच्च जोखिममा रहेको स्थानीय तारावीर रावलले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार रातिदेखि परेको अविरल वर्षाले थालीगाउँका ५० घरधुरी पहिराको उच्च जोखिममा पर्नुका साथै उनीहरूलाई आफन्तको घरमा सारिएको छ । पहिराले खेतीयोग्य जमिनसमेत बगाइसकेको र घर पनि पहिराको उच्च जोखिममा रहेको उक्त स्थानका बासिन्दामा सङ्कट सिर्जना भएको छ ।

यसैगरी जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–४ लौठीमा ३० घरपरिवार पहिरोको उच्चमा परेका छन् । लौठीगाउँ भिरालोमा रहेकाले गाउँबाट पहिरो बगिरहे पनि अहिलेसम्म क्षति नगरे पनि उच्च जोखिममा रहेको यहाँका स्थानीय जयराज सज्यालले जानकारी दिनुभयो । वर्षाले यस क्षेत्रमा भौतिक संरचनादेखि अन्य बालीनालीसमेत क्षति गरेको उहाँले बताउनुभयो ।

यस्तै अदानचुली–२ खलेसेरा गाउँका २० घर पहिराको जोखिममा परेका छन् । गत वर्ष यस क्षेत्रका चार घर पहिरो परी पूर्णरूपमा क्षति भएको थियो । पहिरो पिडीतलाई सम्बन्धित निकायले कुनै सहयोग नगरेको यहाँका लगबहादुर बुढाले बताउनुभयो । अहिले पनि २० घर पहिराको जोखिममा रहेको उहाँले बताउनुभयो ।

यसपटकको वर्षाले हुम्लामा कृषकले घर भित्र्याउन लागेको धानबाली, गहुँ, जौँमा क्षति पुगेको छ । पाकिसकेको बाली खेतमै रहेको र लगातरको वर्षाले कुहिएर खेर जाने भन्दै यहाँका किसानले चिन्ता व्यक्त गर्न थालेका छन् । वडा–२ को खलेसेरामा धानबाली, मकै, कोदोलगायत अन्य तरकारीजन्य खाद्यान्नसँगै जमिनसमेत बगाएको छ । यता अदानचुली वडा ३ मा रहेको हालै मात्र बनाएको महिला भवनसमेत भत्काएको छ ।

बझाङको पहिरामा परी चारको मृत्यु

बझाङको खप्तडछान्ना गाउँपालिकामा पहिरामा परी चारजनाको मृत्यु भएको छ ।

घरमाथि बाट पहिरा खसेर घर पुरिँदा खप्तडछान्ना गाउँपालिकाको माझीगाउँ र कालुखेतीका दुई÷दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा वडा नं ४ माझीगाउँका अन्दाजी ४५ वर्षीय धर्मराज रोकाया र ४१ वर्षीया उनकी श्रीमती रहेका छन् । त्यस्तै वडा नं ५ कालुखेतीका अन्दाजी ४७ वर्षीय विरु गिरी र उनकी ४५ वर्षीया श्रीमती चन्द्रा गिरीको पनि पहिरामा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिराले घर भत्काएपछि च्यापिएर मृत्यु भएको खबर आएको र छान्ना प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ खटाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खडकाले बताउनुभयो ।

तटीय क्षेत्रका बस्ती उच्च जोखिममा

महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिकाका तटीय क्षेत्रका बस्ती डुबानको उच्च जोखिममा छन् ।

यहाँको महाकाली नदीमा बनिरहेको चार लेनको पक्की पुलसँगै निर्माण भएको ६ लेनको पहुँच मार्ग भत्किएर बाढी गाउँ बस्ने खतरा बढेको छ । “मङ्गलबार रातिसम्म पहुँच मार्गको ५० प्रतिशत चौडाइ नदीले कटान गरिसकेको थियो”, इलाका प्रहरी कार्यालय गड्डचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले भन्नुभयो, “अहिले त एक÷दुई मिटर मात्रै सडक बाँकी छ ।”

पहुँच मार्ग भत्किए ऐरी, ओदाली, बडैपुर, पिपरियालगायत गाउँ डुबानमा पर्नेछन् । स्थानीय प्रशासनले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा जाली भर्ने कार्य गरेर सम्भावित जोखिम टार्ने प्रयास गरिरहेको छ । नदीमा पानीको बहाव घटिरहेको भए पनि छेउछाउका कटान भने तीव्र बनाएको छ ।

पहुँच मार्ग भत्किएर बस्ती डुबान हुनसक्ने भन्दै सो क्षेत्रका स्थानीयवासीलाई अन्यत्रका विद्यालय र सुरक्षित स्थानमा सारिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले मङ्गलबार मात्रै कञ्चनपुरमा बाढीबाट बच्न दुई हजार सात सय जनालाई सुरक्षित स्थानमा सारिएको बताउनुभयो । “हिजो ५२७ परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भयो”, प्रवक्ता थापाले भन्नुभयो, “आज महाकाली गाउँ बस्ने खतरा भएकाले ऐरीघाटदेखि दक्षिण झोलुङ्गे पुलसम्म सुरक्षित स्थानमा सर्न माइकिङ गरेका छौँ ।”

उहाँले धेरै स्थानीय सर्न तयार रहे पनि केहीले अटेर गरेको समेत बताउनुभयो । “पहुँचमार्ग पूरै बगिसकेको होइन”, उहाँले भन्नुभयो, “बगेर महाकाली गाउँ पस्ने खतरा पनि धेरै छ ।” उहाँले आज बिहान गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव तीन लाख १२ हजार क्युसेक पुगेको जानकारी दिनुभयो । त्यसैगरी दोधारा चाँदनी क्षेत्रमा पनि महाकालीले केही स्थानमा कटान गरिरहेको छ । त्यहाँ जोगबुढा र महाकाली नदीको बाढी गाउँ पस्दा केही वडाहरुका नागरिकलाई उद्धार गरिएको थियो ।

बर्दियाको राजापुर र गेरुवा क्षेत्र डुबानमाः हजारौँ घर परिवार विस्थापित

विगत तीन दिनको अविरल वर्षाले बर्दिया जिल्लाका राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका वस्ती डुबानमा परेका छन् ।

शनिबारदेखि आएको लगातारको वर्षाका कारण कर्णाली नदीमा आएको बाढीबाट सो क्षेत्रका एक हजार दुई सयभन्दा बढी घर र सयौं विघामा लगाइएको धानबाली डुबानमा परेको जिल्ला प्रशासन कार्यालय बर्दियाको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताउनुभयो ।

गेरुवा गाउँपालिकाको सन्कतिघाट वन्कत्तीबाट कर्णाली नदीको बाढी पस्दा गेरुवा गाउँपालिका र राजापुर नगरपालिकाको एक दर्जन गाउँ डुबानमा परेका छन् । बाढीबाट भएको क्षतिको अद्यावधिक विवरण आउन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

हालसम्म प्राप्त प्रारम्भिक सूचनाअनुसार राजापुर नगरपालिका–१ मा ७४८, वडा नं ३ मा १२० र वडा नं ७ मा १५९ गरी जम्मा एक हजार २७ घरपरिवार र गेरुवा गाउँपालिका–२ मा १०० र वडा नं ३ मा ११० गरी जम्मा २१० घरपरिवार गरी कूल जम्मा एक हजार २३७ घरपरिवार प्रभावित भएका छन् ।

प्रभावितलाई सुरक्षित स्थानमा

बाढी प्रभावितमध्ये चनौरामा ७०, मुगौहा उच्चस्थानमा ६०, मुगौहामा २५, दौलतपुर पशुपति स्कूलमा ६०, आरामिलमा २५, नङ्गापुर आश्रयस्थलमा १५, चख्खापुर आश्रयस्थलमा १२, भालुफाँटाको आश्रयस्थलमा १५९ र गेरुवा गाउँपालिकाअन्तर्गत सरस्वती मावि बनकट्टीमा २४ र अन्य घरपरिवारलाई छिमेकी तथा आफन्तको घरमा बस्ने व्यवस्था मिलाएको प्रजिअ सन्तबहादुर सुनारले बताउनुभयो ।

बाढीबाट प्रभावित भई आश्रयस्थलमा रहेकालाई स्थानीय तह, स्थानीय समुदाय समूह र बर्दिया अक्सिजन बैंकको सहयोगमा पिउने पानी, तयारी खाना र ११५ थान त्रिपाल वितरण गरिएको बताइएको छ ।

यस अवधिमा नदीमा नुहाउन जाने, काठ दाउरा छोप्ने, माछा मार्ने, घुम्न जानेजस्ता असुरक्षित व्यवहार नगर्नु÷नगराउनु हुन जिल्ला प्रशासन कार्यालयले अनुरोध छ । कर्णाली नदीमा बाढी आउँदा पानीको सतह बढेकाले भौराटप्पु अत्यन्तै जोखिममा परेको छ ।

बाढीबाट गेरुवा गाउँपालिका–२, ३, राजापुर नगरपालिका–१ र ३ का राजीपुर, वन्कत्ती, पाताभर, सन्कत्ती वन्घुरा, तिउनी, तिक्लीगद, चनौरा, तिघ्रा, तिउनी सोनपुरका करिब एक हजार घर डुवानमा परेका छन् ।

बाढी पिडीतलाई स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय र गैरसरकारी सङ्घसंस्थाको सहयोगमा उद्धार कार्य भइरहेको जिल्ला समन्वय समितिका सभापति शङ्करप्रसाद थारूले बताउनुभयो ।

धनकुटामा पहिराले घर पुरिँदा छ जनाको मृत्यु

धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले घर पुर्दा छ जनाको मृत्यु भएको छ ।

राति करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो । पहिराले पुर्दा घरमा सुतिरहेका श्रेष्ठसहित छ जनाको घटनास्थलमै मृत्यु भएको र अरु छ जना घाइते भएका धनकुटाका प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताउनुभयो ।

घर पुरिँदा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका नौ वर्षीय नाति विनोद, पाँच वर्षीया नातिनी निर्जला, पाहुना आएका दमक–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र सात वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । घटनामा परी घाइते भएका ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लिला श्रेष्ठ र ५४ वर्षीया गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको डिएसपी रायाले जानकारी दिनुभयो ।

गम्भीर घाइतेसहित अन्य घाइते वर्ष ३३ का उषा श्रेष्ठ, वर्ष ११ का सञ्जाल श्रेष्ठ र वर्ष २८ का चन्द्रकुमार श्रेष्ठको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि लैजान सेनासँग समन्वय भइरहेको उहाँले बताउनुभयो । घाइते हुनेमा भीमबहादुरको परिवारका सदस्य र आफन्त छन् । घाइतेको उद्धारका लागि लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा समस्या भएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि उनीहरुलाई लैजाने तयारी भइहेको प्रहरीले जनाएको छ ।

गएको असोज ३१ गते वर्षा हुने प्रणाली सक्रिय भई नेपालमा विभिन्न क्षेत्रमा भारी वर्षा भएको थियो । यो क्रम आज पनि जारी छ ।

सरकारद्धारा राहतको घोषणा

सरकारले बाढी पहिराबाट मृत्यु हुनेका परिवारलाई रु दुई लाख दिने निर्णय गरेको छ । एकै परिवारका दुई जनाको निधन भएमा भने रु तीन लाख दिइनेछ ।

आवास गुमाउने पाँच जनासम्मको परिवारलाई तत्काल रु १५ हजार दिइने र सोभन्दा बढी सदस्य भएका परिवारलाई रु २० हजार दिइने र घाइतेको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ ।

गएको असोज ३१ गते वर्षा हुने प्रणाली सक्रिय भई नेपालमा विभिन्न क्षेत्रमा भारी वर्षा भएको थियो । यो क्रम आज पनि जारी छ । सरकारले बाढी पहिराबाट मृत्यु हुनेका परिवारलाई रु दुई लाख दिने निर्णय गरेको छ । एकै परिवारका दुई जनाको निधन भएमा भने रु तीन लाख दिइनेछ ।

आवास गुमाउने पाँच जनासम्मको परिवारलाई तत्काल रु १५ हजार दिइने र सोभन्दा बढी सदस्य भएका परिवारलाई रु २० हजार दिइने र घाइतेको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ ।

Share Now

Leave a comment.