Prakash Adhikari October 20, 2021

सोलुखुम्बु, ३ कात्तिक (रासस)। निरन्तरको वर्षातसँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा दुई विदेशीसहित १० जना पर्यटक मेरापिक क्षेत्रमा फसेका छन् ।

जिल्लाको महाकुलुङ गाउँपालिकामा पर्ने मेरापिक आरोहण गरेर फर्कने क्रममा मङ्गलबार दिउँसोदेखि उनीहरु हिउँमा फसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख कबित कटवालका अनुसार निरन्तर परेको पानी तथा हिमपातका कारण ५ हजार ७ सय मिटरको मेराला ओडारमा चार, हाइक्याम्पमा चार र ५ हजार ३ सय मिटरको बेसक्याम्पमा दुईजना आरोही फसेका हुन् ।

प्राप्त जानकारीअनुसार मेरालामा फसेका चारमध्ये एक बेलायती नागरिक स्टु सियनसहित सोलुखुम्बुका आरोही गाइडहरु पासाङ छिरिङ, छेतेन शेर्पा र पासाङ शेर्पा रहेका छन् । त्यस्तै, हाइक्याम्पमा एक विदेशी पर्यटक, पूर्ण थापा मगरसहित नाम नखुलेका दुई र बेस क्याम्पमा नाम नखुलेका थप दुईजना अलपत्र परेका हुन् । उनीहरु एडभेन्चर भिक्टोरी र मकालु एडभेन्चरमार्फत मेरापिक आरोहणमा गएका थिए । मौसम प्रतिकूलका बीच पनि उनीहरुको उद्धारका लागि महाकुलुङको खारेबाट सातजना क्लाइम्बिङ गाइड मेराला ओडारमा पुगेका छन् ।

एडभेन्चर भिक्टोरी सञ्चालक लक्ष्मण मिसन कार्कीले मेराला ओडारमा चारजना बसेको भए पनि उद्धारमा पुगेकाहरुले तीनजनालाई जटिल अवस्थामा भेटेको बताउनुभयो । हाइक्याम्प र बेसक्याम्पमा रहेकासँग सञ्चित खानेकुरा भए पनि मेराला ओडारमा फसेकाहरुसँग कुनै पनि खानेकुरा नहुँदा समस्या भएको उहाँको भनाइ छ ।

“मेराला ओडारमा भेटिएका तीनजनाको अवस्था जटिल छ भन्ने खबर आयो”, कार्कीले भन्नुभयो, “हिजोदेखि हेलिकप्टर तयारी अवस्थामा राखेर बसियो तर मौसम प्रतिकूल हुँदा समस्या भयो, अहिले पनि म नागरिक उड्डयन प्राधिकरणको कार्यालय काठमाडौँमै छु ।”
नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामाले हराएका मध्ये ३ जनालाई पैदलै उद्धारमा खटिएको टोलीले फैला परेको छ तर उनीहरुको अवस्था नाजुक रहेको छ ।

भरियाको मृत्यु

मेरापिक क्षेत्रमा पर्यटकसँग गएका एक भरियाको मृत्यु भएको छ । महाकुलुङ गाउँपालिका–५ चाचालुङका २५ वर्षीय जीवन कुलुङको लेक लागेर मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ ।

सोही गाउँपालिकामा पर्ने मेरापिक पुगेर फर्कने क्रममा ठाङ्ना भन्ने ठाउँमा आइपुग्दा बुधबार जीवनको मृत्यु भएको बताइएको छ । पर्यटकको भरियाका रूपमा गएको बुझिए पनि कुन कम्पनीबाट गएको भन्नेबारे खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ओमप्रकाश यादवले जानकारी दिनुभयो ।

घटनास्थलमा प्रहरी पुग्न तीन दिन लाग्ने भएकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा फोन सम्पर्कसमेत राम्रो नहुने हुँदा समस्या भएको प्रहरी निरीक्षक यादवको भनाइ छ ।

Share Now

Leave a comment.