Prakash Adhikari March 1, 2018

हरारे(जिम्बाबे), १७ फागुन । आईसीसी बिश्वकप छनौट अन्तर्गत नेपाल र हंगकंग बीच आज निर्धारित अभ्यास खेल वर्षाको कारण रद्द गरिएको छ।

नेपाली समय अनुसार दिउसो १: १५ बजे सुरु हुने भनिएको खेल बुधबार रातिको वर्षा पछि भिजेको मैदानको कारण समयमा आरम्भ हुन पाएन ।

तीन घण्टाको प्रतिक्षा पछि अम्पायर ३०/३० ओभरको इनिंगको खेल हुने घोषणा गरेलगत्तै पुनः मैदानमा वर्षा भएपछि खेल स्थगित गर्ने निर्णय अम्पायरले गरेका हुन्।

यस अघि नेपाल र युएई बीच खेलिएको पहिलो अभ्यास खेल पनि वर्षाको कारण ढिला सुरु भएपछि २९ ओभरको इनिंगमा खेलाईएको थियो। उक्त खेल नेपालले ५ विकेटले जितेको थियो।

इंग्ल्यान्डमा २०१९ मा आयोजना हुने बिश्वकप छनौट प्रतियोगिताको समूह “बि” मा रहेको नेपाली टोलीले आफ्नो पहिलो खेल मार्च ४ मा जिम्बाबे बिरुद्द खेल्दै छ। नेपालले समूह चरणमा आयोजक जिम्बाबेसंगै स्कटल्याण्ड, अफगानिस्तान र हंगकंगको सामना गर्नेछ। समूह चरणबाट शीर्ष ३ मा पर्ने टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्।

यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले ८ मार्चमा स्कटल्याण्डको सामना गर्नेछ। लिग चरणका अन्तिम दुई खेलमा नेपालले मार्च १० मा अफगानिस्तान र १२ तारिखमा हंगकंगको सामना गर्नेछ।

नेपाली टोली : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललित नारायण राजवंशी, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी

Share Now

Leave a comment.