लण्डन(संयुक्त अधिराज्य), १७ फागुन । आइपीएल प्रतियोगितामा दिल्ली डियर डेभिल्सको छनोटमा परेका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिगको ड्राफ्ट सूचिमा समेत समेटिन सफल भएका छन् प्रतियोगितामा खेल्ने खेलाडीहरुका चयन अर्थात ड्राफ्ट आज लन्डनमा आयोजना हुँदैछ। ड्राफ्टबाट क्यारेवियन प्रिमियर लिगमा सहभागी हुने टिमहरुले खेलाडीहरु छान्नेछन्।
ड्राफ्ट नेपाली समय अनुसार रातको ८: ४५ बजे सुरु हुनेछ जसको स्पोर्ट्सम्याक्स टिभीले प्रत्यक्ष प्रशारण गर्नेछ।
इन्डियन प्रिमियर लिग आईपीएल टिम दिल्ली डेयर डेभिल्सले आईपीएल अक्सनमा २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेपछि सन्दिप लामिछानेका लागि यो अर्को ठूलो व्यावसायिक अवसर हो ।
आईपीएलमा पर्नु अघि सन्दीप बंगलादेश प्रिमियर लिग र पाकिस्तान सुपर लिगको ड्राफ्टमा परे पनि खरिद भने भएका थिएनन्।वेस्ट इन्डिजमा आयोजना हुने क्यारेबियन प्रिमियर लिगको खेलाडी छनौटको लागि गरिने ड्राफ्ट सूचीमा सन्दिप लामिछाने पनि परेका छन्।
सन् २०१३ देखि आयोजना हुँदै आएको सीपीएल टि-२० को पाँचौ संस्करण अगस्टमा आयोजना हुँदैछ जसमा बिश्वभरका उत्कृष्ट अन्तर्राष्ट्रिय क्रिकेटरहरु खेल्ने गर्छन्। ६ वटा फ़्रेन्चाइज् टिम सहभागी हुने प्रतियोगिताको गत सिजनको बिजेता शाहरुख खानको लगानी रहेको त्रिन्बागो नाइट राइडर्स रहेको थियो।
गत बर्षको क्यारेबियन प्रिमियर लिग ड्राफ्टमा क्रिस गेल, ड्वेन ब्राभो, सोहेल तन्बिर, काइरन पोलार्ड, डेभिड मिलर, लेन्डल सिमोन्स सबैभन्दा महँगो १ लाख ६० हजार डलरमा अनुबन्धित भएका थिए।
यसपाली चयनका लागि २ सय २७ जना बिदेशी खेलाडीहरुको नाम ड्राफ्टमा राखिएको छ। पहिलो ड्राफ्टमा सबैभन्दा धेरै ५३ जना पाकिस्तानी खेलाडीहरु रहेका छन् ।
श्रीलंकाबाट २३ जना खेलाडीहरुको नाम सूचीमा रहेको छ ।
अन्य टेस्ट खेल्ने देशहरुका खेलाडीहरुमा इंग्ल्याण्ड, दक्षिण अफ्रिका, न्युजिल्याण्ड, अस्ट्रेलिया, बंगलादेश, जिम्बाबे, आयरल्याण्डबाट रहेका छन्।
लिगमा विश्वका १८ देशका खेलाडीहरु ड्राफ्टमा रहेका छन् जसमा टेस्ट राष्ट््र पछि अमेरिका, ओमान, हंगकंग, स्कटल्याण्ड, युएई र केन्याका खेलाडी रहेका छन् ।
अन्तर्राष्ट्रिय लिगहरु खेल्न एजेन्ट मार्फत खेलाडीको नाम दर्ता हुनेगर्छ र सन्दिप लामिछाने एजेन्टकै मार्फत पाकिस्तान सुपर लिग र बंगलादेश प्रिमियर लिगको ड्राफ्टमा परेका थिए। आईपीएलमा भने सन्दिपलाई ड्राफ्टमा राख्न नेपाली क्रिकेटकै उच्च तहबाट पहल भएको थियो।
हालै सम्पन्न बिश्व क्रिकेट लिग डिभिजन-२ मा सन्दीपले गरेको उत्कृष्ट प्रदर्शन र आईपीएलमा छनौट भएका कारण अन्तर्राष्ट्रिय क्रिकेटका अन्य चर्चित लिगमा छनौट हुने सम्भावना बढेको छ। रिस्ट स्पिनरहरुको बढ्दो मागले सन्दिप जस्ता बलरको माग झनै बढेको छ।
डिभिजन-२ मा सन्दिप प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए भने कूल १७ विकेट लिंदै सर्वाधिक विकेट लिने खेलाडी समेत बनेका थिए।
सन्दिपले आफ्नो खेल मार्फत २०१६ यु(१९ बिश्वकपमा बिश्वकप ध्यानाकर्षण गरेका थिए। त्यो प्रतियोगितामा उनले आयरल्याण्डसंग ह्याट(ट्रिक सहित ५ विकेट लिएका थिए भने प्रतियोगिताकै धेरै विकेट लिने सूचीमा दोश्रो स्थानमा थिए ।
नेपाली राष्ट्रिय क्रिकेट टिमबाट लगातार खेलिरहेका सन्दिपले २०१६ मै हंगकंगको घरेलु टि-२० प्रतियोगिता हंगकंग टि-२० ब्लीटज खेलिसकेका थिए, त्यहा उनले अस्ट्रेलियन पुर्ब कप्तान माईकल क्लार्कसंग काउलुन क्यान्टोन क्लबबाट खेल्ने मौका पाएका थिए ।
त्यस प्रतियोगिता पछि क्लार्ककै निम्तोमा सन्दिपले अस्ट्रेलियामा क्रिकेट खेल्ने र सिक्ने मौका पाएका थिए ।
गत बर्ष सिंगापुरमा सम्पन्न यु-१९ एसिया बिश्वकप छनौटमा कुल २४ विकेट लिएका सन्दिप नेपालको लागि एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै विकेट लिने खेलाडी समेत हुन्।
गत बर्ष फेब्रुअरीमा बिश्व प्रसिद्ध बेलायती क्रिकेट म्यागजिन ‘अलआउट क्रिकेट’ ले जारि गरेको बिश्व क्रिकेटमा प्रभाब बनाएका र बनाउन सक्ने खेलाडीको सूचीमा समेत सन्दिप रहेका थिए।




















