हेटौडा(मकबानपुर), १० कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको नेतृत्वमा रहेको प्रदेश सरकार आज गिर्ने संभावना बलियो देखिएको छ ।
मुख्यमन्त्री शाक्यले राख्नुभएको विश्वासको मतमाथि आज मत विभाजन हुने भएको छ।
आज दिउँसो १ बजे बस्ने प्रदेशसभामा मुख्यमन्त्री शाक्यको विश्वासको मतको प्रस्तावमा मत विभाजन हुन लागेको हो। मतदानको लागि आवश्यक सम्पुर्ण तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ।
मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितका कर्मचारी खटाइने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभएको छ।
प्रदेशसभाले विश्वासको मत विभाजनका लागि कार्यविधि पनि तयार गरिसकेको छ । कार्यव्यवस्था तथा परामर्श समितिअन्तर्गत रहेर गठन गरिएको उपसमितिले ‘दस्तखतसहितको मत विभाजन सम्बन्धि कार्यविधि–२०७८’ तयार गरेको छ । कार्यविधिमा पक्ष, विपक्ष र नो भोटको व्यवस्था गरिएको छ।
गत असोज २४ बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गर्नुभएको थियो।
कात्तिक ४ गतेको बैठकमा सो प्रस्तावमाथि छलफल भएको थियो। प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताले प्रस्तावमाथि आ–आफ्नो विचार राखेका थिए।
विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि बनाउने निर्णय गरिसकेको छ।
बागमतीमा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ।
मुख्यमन्त्री शाक्य भदौ २ मा नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्नुभएको थियो। नेकपा एमालेका १३ सांसद् एकीकृत समाजवादीतिर लागेपछि शाक्यको सरकार अल्पमतमा परेको हो।
मुख्यमन्त्री शाक्यसँग हाल सभामुखसहित ४३ जना सांसद् छन्।
प्रदेश सभामा एमालेका ४३‚ माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३‚ विवेकशील साझा पार्टीका ३‚ नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुईरदुई तथा जनता समाजवादी पार्टीका १ सांसद् छन्। विश्वासको मत पाउन ५५ सांसदको समर्थन चाहिन्छ।


















