Prakash Adhikari October 26, 2021

शारजहाँ(संयुक्त अरब इमिरेट्स), १० कार्तिक । टी २० विश्वकप क्रिकेट अन्तरगत मंगलबार राति सम्पन्न दोस्रो खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले पराजित गरेको छ ।

पहिलो खेलमा भारतलाई १० विकेटले पराजित गरेको पाकिस्तानले न्युजिल्याण्डमाथि पनि सहज जित निकालेको थियो ।

युएईको शारजाह स्टेडियममा सम्पन्न सुपर १२ चरणको समुह ‘२’ अन्तर्गत खेलमा न्युजिल्यान्डले दिएको १ सय ३५ रनको लक्ष्य पाकिस्तानले ५ विकेटको क्षतिमा ८ बल बाँकी रहँदै हासिल गरेको थियो।

पाकिस्तानको ब्याटिंगमा मोहम्मद रिजवानले ३३, आसिफ अलीले अविजित २७, शोयब मलिकले अविजित २६, फखर जमान, मोहम्मद हफिज र इमाद वासिमले समान ११ / ११ रन बनाएका थिए।

पाकिस्तानलाई रोक्ने क्रममा न्युजिल्यान्डका इश सोढीले २ तथा ट्रेन्ट बोल्ट , मिचेल स्यान्टनर र टिम साउदीले समान एक एक विकेट लिएका थिए।

यस अगाडि टस हारेर ब्याटिंग गरेको न्युजिल्यान्डले २० ओभरमा ८ विकेट क्षतिमा १ सय ३४ रन बनाएको थियो। न्युजिल्यान्डको ब्याटिंगमा डेरेल मिचेल र डेभोन कनवेले सर्वाधिक २७ रन, कप्तान केन विलियमसनले २५ रन, मार्टिन गप्टिलले १७ रन, ग्लेन फिलिप्सले १३ रन बनाएका थिए।

न्युजिल्याण्डलाई रोक्ने क्रममा पाकिस्तानको बलिंगमा हरिस रौफले ४ विकेट लिए भने शाहिन अफ्रिदी , इमाद वासिम र मोहम्मद हफिजले समान एक विकेट लिए।

पाकिस्तानले आगामी खेल अफगानिस्तान बिरुद्ध अक्टोबर २९ मा खेल्नेछ। न्युजिल्यान्डले आगामी खेल भारतसंग अक्टोबर ३१ मा खेल्नेछ।

Share Now

Leave a comment.