Prakash Adhikari October 28, 2021

हेटौडा(मकवानपुर), ११ कार्तिक । वाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएको गर्नुभएको छ ।

आज दिउँसो प्रदेश प्रमुख यादवराज शर्मामार्फत उहाँले प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा शपथ लिनुभएको हो । मुख्यमन्त्री पाण्डेले आजै तीन मन्त्री नियुक्त गर्दै चार सदस्यीय मन्त्रिपरिषद् बनाउनुभएकोे छ ।

उहाँले नेकपा (माओवादी) केन्द्रकी कुमारी मोक्तानलाई सामाजिक विकास, नेपाली कांग्रेसका कृष्णलाल भडेललाई भौतिक पूर्वाधार विकास र नेकपा(एस) का कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

नवनियुक्त मन्त्रीहरुले पनि आजै पद तथा गोपनियताको शपथ लिनुभएको थियोे ।

वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज अपरान्ह नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई नियुक्त गर्नुभएको थियो ।

प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री राजेन्द्र पाण्डेको सिफारिसअनुसारगठबन्धनको तर्फबाट प्रदेशसभाका सदस्य कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालय, कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालय र कृष्णप्रसाद खनाललाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी तोक्नुभएको थियो ।

नेकपा एमालेबाट मुुख्यमन्त्री बन्नुभएकी अष्टलक्ष्मी शाक्यले हिजो प्रदेश सभाको बैठकमा आफूले पदत्याग गर्ने घोषणा गर्दै प्रदेश प्रमुख शर्मा समक्ष राजिनामा दिएपछि प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनको लागि दावी पेश गर्न आज अपरान्हसम्मको समय दिनुभएको थियो ।

हिजै प्रदेशसभाका ५९ जना सदस्यको समर्थनसहित मुख्यमन्त्री पदमा पाण्डेलाई नियुक्त गर्न दाबीपत्र हिजै प्रदेश प्रमुख सचिवालयमा दर्ता गरिएको थियो ।

गठबन्धनको तर्फबाट नेकपा (माओवादी)केन्द्र, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जसपाले पाण्डेलाई मुख्यमन्त्री बनाउन समर्थन गरेका थिए ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेकपा (एमाले(, माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, विवेकशील साझा, नेपाल मजदूर किसान पार्टी, राप्रपा र जसपाको गरी कूल १ जना ९ जना सदस्य हुनुहुन्छ ।

सिंगो एमाले रहदा बहुमतबाट मुख्यमन्त्री बन्नुभएकी शाक्यको सरकार नेकपा एमाले विभाजित भएर नेकपा (एकीकृत समाजवादी) गठन भएपछि अल्पमतमा पर्नुभएको थियो ।

Share Now

Leave a comment.