रोम(इटाली), १४ कार्तिक(बीबीसी) । विश्वका प्रमुख २० अर्थतन्त्रका नेताहरूले ठूला व्यवसायहरूको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने एउटा विश्वव्यापी सम्झौतालाई अनुमोदन गरेका छन्।
बहुराष्ट्रिय कम्पनीहरूले कम कर प्रावधानहरूका फाइदा उठाउँदै आफ्ना नाफा घुमाउरो तरिकाले बढाउने गरेका भन्ने चिन्ता माझ त्यस्तो प्रावधान अनुमोदन गरिएको हो।
रोममा भइरहेको विश्वको प्रमुख २० अर्थतन्त्रको सम्मेलनमा सहभागी नेताहरूले उक्त सम्झौतामा सहमति जनाएका हुन।
सम्मेलनमा छलफल हुने विषयवस्तुमा जलवायु परिवर्तन र कोभिड पनि छन्। कोभिड महामारी सुरु भएयता विश्व नेताहरूले भौतिक उपस्थिति जनाएको यो पहिलो कार्यक्रम हो।
तर १९ वटा राष्ट्र र युरोपेली सङ्घ सदस्य रहेको जी २० समूहको सम्मेलनमा दुई जना नेता भने सहभागी छैनन्। चीनका सी जिनपिङ र रुसका भ्लादिमिर पुटिनले सम्मेलनमा भिडियो लिङ्क मार्फत सहभागिता जनाउनुभयो।
अमेरिकाले प्रस्ताव गरेको कर सम्बन्धी सम्झौता आधिकारिक रूपमा आइतवार स्वीकृत गरिने गरिने र सन् २०२३बाट लागू हुने समाचार संस्था रोयटर्सले जनाएको छ।
अमेरिकी अर्थ मन्त्री जानेट यालेनले ऐतिहासिक सम्झौता विश्व अर्थतन्त्रका लागि महत्त्वपूर्ण क्षण रहेको र र यसले कर्पोरेट करको तल्लो तहसम्मको हानिकारक दौड अन्त्य गर्ने बताउनुभयो।
ट्विटरमा लेख्दै उहाँले अमेरिकाका ठूला कम्पनीहरूले बढी कर तिर्नुपर्ने भए पनि अमेरिकी व्यवसाय र श्रमिकहरूलाई कर सम्बन्धी सम्झौताबाट लाभ हुने उल्लेख गर्नुभएको छ।
स्कटल्यान्डको सहर ग्लास्गोमा सोमवार सुरु हुन लागेको विश्व जलवायु परिवर्तन सम्मेलन कोप २६ सम्मेलन अघि जी २० राष्ट्रहरूको सम्मेलन सुरु भएको हो।
उक्त सम्मेलनमा हुने कुराहरूले जलवायु परिवर्तनको सामना गर्नका लागि आफ्ना प्रतिबद्धतामा राष्ट्रहरूबीच चरम भिन्नता रहेको अवस्थामा कोप २६का लागि आधारहरू तय गर्न सक्ने बताइएको छ।


















