Prakash Adhikari October 31, 2021

 

विराटनगर(मोरड.), १४ कार्तिक । प्रदेश १ को विपक्ष गठबन्धनले मुख्यमन्त्री भीम आर्चायलाई विश्वासको मत नदिने र विपक्षमा मतदान गर्ने निर्णय गर्नुका साथै आचार्य सरकार ढलेपछि मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईलाई अघि सार्ने निर्णय गरेको छ ।

आइतबार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको बैठकले मुख्यमन्त्रीमा एकीकृत समाजवादीका राईलाई अघि सार्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र प्रदेशसभा १ का संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले जानकारी दिनुभएकोे छ ।

गत भदौ १० गते नियुक्त हुनुभएका मुख्यमन्त्री भीम आचार्यले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । सोमबार मुख्यमन्त्रीले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्ने निर्णय भएको पनि ओङ्बोले जानकारी दिनुभएको छ ।

आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेको गठबन्धनले भीम आचार्यको सरकार ढलेपछि प्रदेश प्रमुखबाट नयाँ सरकार गठनको आह्वानमा राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको हो ।

बैठकले मन्त्रालय भागबण्डा र काङ्ग्रेसले दाबी गर्दै आएको आधा कार्यकालका विषयमा मुख्यमन्त्री नियुक्ति पछि छलफल गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्रीमा काङ्ग्रेसले आलोपालो हुनुपर्ने दाबी गरिरहेको छ । काङ्ग्रेसको मागका विषयमा गठबन्धनमा रहेका दलहरुले शीर्ष नेतालाई जानकारी गराउने सहमति गरेका छन् ।

नेपाली काङ्ग्रेस प्रमुख सचेतक केदार कार्कीले मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्ने र मुख्यमन्त्रीको रुपमा राजेन्द्र राईलाई अघि सार्ने निर्णय भएको पुष्टि गर्नुभएको छ । उहाँले आलोपालोको विषय गठबन्धनको आन्तरिक विषय रहेको बताउनुभयो।

प्रदेश १ मा ९२ जना प्रदेशसभा सदस्य छन् । एमालेसँग ४१ सांसद छन् । प्रदेशसभामा बहुमतका लगि ४७ सांसदको समर्थन आवश्यक पर्छ । विपक्षी गठबन्धनसँग ५० जना सांसद छन् ।

गठबन्धनमा रहेको काङ्ग्रेसँग २१, माओवादी केन्द्रसँग १५, नेकपा एकीकृत समाजवादीसँग १०, जसपासँग ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सांसद छन् । एक जना सांसद रहेको राप्रपा दुवै पक्षमा खुलेको छैन ।

 

Share Now

Leave a comment.