Prakash Adhikari November 6, 2021

ढाका(बंगलादेश), २० कार्तिक । महिला टी २० विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीको लागि बंगलादेशको भ्रमणमा रहेको नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले ‘बंगबन्धु बंगलादेश कृरा शिक्षा प्रतिष्ठानसैगको मैत्रीपूर्ण क्रिकेट सिरिज’ अन्तर्गत पहिलो खेल २४ रनले जितेको छ।

बंगलादेश कृरा शिक्षा प्रतिष्ठान बिरुद्ध सिरिजको पहिलो खेलमा नेपालले दिएको ७३ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश कृरा शिक्षा प्रतिष्ठानले १७.१ ओभरमा सबै विकेट गुमाएर ४८ रन मात्र बनाउन सक्यो।

उसको लागि ओपनर फर्जाना लिजाले सर्वाधिक २५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालको बलिंगमा संगीता राईले सर्वाधिक ४ विकेट हात पारिन् भने कविता कुँवर, सीता राना मगर, रुबिना क्षेत्री र सरस्वति चौधरीले समान एक विकेट हात पारे।

यस पहिलो बंगलादेश कृरा शिक्षा प्रतिष्ठान मैदानमा टस जितेर ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट क्षतिमा ७२ रन बनाएको थियो।

नेपालको लागि कविता जोशीले सर्वाधिक २३ भने कप्तान रुबिना क्षेत्रीले अविजित १६ रन, काजल श्रेष्ठले १२ रन बनाईन्। सीता राना मगरले ७, इन्दु बर्माले ३, सरिता मगरले २ तथा कविता कुँवरले १ रन बनाईन्।


बंगलादेश कृरा शिक्षा प्रतिष्ठानको बलिंगमा दिशाले ३ विकेट तथा शरुले १ विकेट लिएका थिए ।

सिरिज अन्तर्गत नेपालले ४ वटा खेल खेल्ने तालिका रहेको छ।

बंगलादेश भ्रमण पछि नेपाली टिम स्वदेश फर्किएर नोभेम्बर १४ तारिखमा नेपालबाट टी अन्तर्राष्ट्रिय सिरिज खेल्न कतार प्रस्थान गर्ने तालिका छ।

कतारमा नेपालले नोभेम्बर १६, १७ र १८ तारिखमा तीन वटा टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। नेपाली महिला राष्ट्रिय टिमले खेल्ने उक्त सिरिज पहिलो अन्तर्राष्ट्रिय सिरिज हुनेछ। उक्त सिरिज पछि कतारबाटै टिम युएई प्रस्थान गर्नेछ।

सन् २०२३ को फेब्रुअरीमा दक्षिण अफ्रीकामा आयोजना हुने महिला विश्वकप टि(ट्वान्टी विश्वकपको छनोट अन्तर्गत नेपालले पहिलो खुड्किलोको रुपमा एसिया छनोट खेल्न लागेको हो।

प्रतियोगितामा नेपाल सहित आयोजक युएई, भुटान, हंगकंग, मलेसिया र कुवेत गरि ६ टोली सहभागी छन्। सहभागी ६ टिमले एकअर्का संग एकएक खेल खेलेपछि एक उत्कृष्ट टिम आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुनेछ।

प्रतियोगिताको खेल तालिका अनुसार नेपालले पहिलो खेल नोभेम्बर २२ तारिखमा हंगकंगसंग आईसीसी एकेडेमी मैदान २ मा खेल्नेछ। यस्तै दोश्रो खेल सोहि मैदानमा नोभेम्बर २३ तारिखमा भुटानसंग, तेश्रो खेल नोभेम्बर २५ तारिखमा कुवेतसंग आईसीसी एकेडेमी मैदान १ मा, चौंथो खेल मलेसियासंग सोहि मैदानमा नोभेम्बर २६ तारिखमा तथा पाँचौ खेल नोभेम्बर २८ तारिखमा आईसीसी एकेडेमी मैदान २ मा खेल्नेछ।

रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली महिला क्रिकेट टिममा डली भट्ट, सीता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे (विकेटकिपर) , सरस्वती चौधरी, काजल श्रेष्ठ ( विकेटकिपर), सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, संगीता राई रहेका छन् । नेपाली महिला टिमको प्रशिक्षक जगत टमाटा रहेका छन् ।

Share Now

Leave a comment.