Prakash Adhikari November 11, 2021

काठमाडौं, २५ कार्तिक । प्रधानन्यायाधीशको पदत्यागको विषयमा सर्वोच्च अदालतमा सुरु भएको आन्दोलन नयाँ संकटपूर्ण चरणमा प्रवेश गरेको छ ।

आज सर्वोच्च अदालत परिसरमा प्रहरीद्धारा बल प्रयोग गराएको विरोधमा कानुन व्यवसायीहरुले शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भएका छन् भने सर्वोच्चका सबै इजलास पनि बहिष्कार गर्ने भएका छन् ।

नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनको टोलीले बिहीबार सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई भेटी शुक्रबारको आन्दोलनबारे जानकारी गराएको छ ।

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बारका उपाध्यक्ष मुकुन्द पौडेलसहितको टोलीले बिहीबार आफूहरुमाथि प्रहरी लगाएर कुटपीट तथा धरपकड गरेको विरोधमा शुक्रबार प्रधानन्यायाधीशलाई सर्वोच्चको मूल गेटमा रोक्ने जानकारी गराएको सर्वोच्च बारका सदस्य डा. रामहरि त्रिपाठीले जानकारी दिनुभएको छ ।

बिहीबार सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि प्रहरीले लाठीचार्ज र धरपकड गरेको थियो ।

कानुन व्यवसायीहरुले सर्वोच्चका सम्पूर्ण इजलासमा भोलि बहस पैरवी नगर्ने घोषणा गरेका छन् ।

बिहीबार सर्वोच्च अदालतमा भएको धर्नाका क्रममा प्रहरीले बल प्रयोग गरेको विरोधमा नेपाल बार एशोसिएसनले यस्तो घोषणा गरेको हो ।
प्रहरी हस्तक्षेपपछिको विरोध सभामा बार महासचिव लीलामणि पौड्यालले भोलि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा समेत कानुन व्यवसायीहरुले बहस पैरवी नगर्ने बताउनुभएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै बार एशोसिएसनको आह्वानमा कानुन व्यवसायीहरुले बिहीबार सर्वोच्चमा धर्ना दिएका थिए ।

त्यसक्रममा प्रहरीले लाठिचार्ज गर्दा बार पदाधिकारीसहित ५ जना घाइते भएका छन् ।

प्रधानन्यायाधीश सुलहको खोजीमा

अदालत परिसरमा नै प्रहरी प्रवेश गरेर न्यायकर्मी प्रतिरक्षी वकिलहरुमाथि हस्तक्षेप गरी लाठी चार्ज गरेर परिस्थिति बिग्रदै गएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई भेटका लागि सन्देश पठाउनुभएको थियो । तर बार अध्यक्ष श्रेष्ठले भने एक्लै नभेट्ने भनेर जवाफ पठाउनुभएको छ ।

 

Share Now

Leave a comment.