काठमाडौं, २७ कार्तिक । नेपाली कांग्रेसको १४औँ महाधिवेशन प्रक्रिया आजदेखि पुनः सुरु भएको छ ।
दसैं, तिहार, नेपाल संवत् र छठ पर्वका कारण स्थगित कांग्रेसको महाधिवेशन प्रक्रिया शनिबार सुरु गर्न लागिएको हो।
क्रियाशील सदस्यता र समायोजनमा विवाद उत्पन्न भएर महाधिवेशन प्रक्रिया सुरु हुन नसकेका १३ जिल्लामा आज वडा अधिवेशन तोकिएको छ । यी जिल्लामा कात्तिक ३० गते पालिका अधिवेशन हुने कार्य तालिका रहेको छ।
आज प्रदेश २ का आठ, सुदूरपश्चिमको कैलाली, कर्णालीको सुर्खेत र डोल्पा, लुम्बिनीको बाँके तथा बागमतीको रसुवा जिल्लामा वडा अधिवेशन सुरु हुँदैछ।
प्रदेश सभा अधिवेशन एकसाथ
कांग्रेसले वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेका ५१ र वडा अधिवेशन सुरु नभएका १३ जिल्लाहरुमा एकसाथ प्रदेशसभा अधिवेशन गर्ने तयारी गरेको छ।
कांग्रेसले ६४ जिल्लाहरुमा यसअघि नै अधिवेशन प्रक्रिया सुरु गरेको थियो। जसमध्ये तराई र पहाडका जिल्लाहरुमा वडा र गाउँरनगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन्।
५१ जिल्लाहरुमा वडा र स्थानीय तहको अधिवेशन कांग्रेसले सम्पन्न गरिसकेको छ।२१ हिमाली जिल्लामध्ये १३ जिल्लाहरुमा अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व पनि आइसकेका छन्।
ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, पूर्वी रुकुम, कालिकोट, मुगु, हुम्ला, बझाङ र बाजुरामा जिल्ला अधिवेशनबाट कांग्रेसमा नयाँ नेतृत्व आइसकेको छ।
१३ जिल्लामा वडा र पालिका अधिवेशन सम्पन्न भइसकेपछि आगामी मंसिर ३ गते ६४ जिल्लाहरुमा एकसाथ प्रदेशसभा अधिवेशन सुरु गरिने कांग्रेसको कार्यतालिका छ।
कार्यतालिकाअनुसार मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुनेछ।
मंसिर २४ देखि २६ सम्म कांग्रेसले काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ।


















