Prakash Adhikari March 3, 2018

दमक(झापा),,१९ फागुन। आजदेखि शुरु भएको रमपम झापा गोल्डकपको तेस्रो संस्करणको उद्घाटन खेलमा आयोजक रमपम झापाले सूदूरपश्चिम ११ लाई पराजित गरे क्वार्टर फाइनलको यात्रा सुनिश्चित गरेको छ ।

विर्ता बजारस्थित दोमलाल रंगशालामा भएको उद्घाटन खेलमा झापा ११ ले सुदुरपश्चिमलाई ५−० गोलले पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गरेको हो ।

खेलको छैटौ मिनेटमा झापा ११ का डिफेन्डर देबेन्द्र तामाङले पहिलो गोल गर्दै खेलमा खाता खोलेका थिए । विशाल राईको प्रहार पोस्टमा लागेर रिवाउन्स भएको बलले देबेन्द्रको प्रहारमा जाली चुमेको थियो । खेलको १४ औँ मिनेटमा झापा ११ का विश्वास श्रेष्ठको प्रहार सुदुरपश्चिमका खेलाडीको खुट्टामा ठोक्किएर आत्माघाती भएको थियो ।

३० औँ मिनेटमा झापा ११ का स्ट्राइकर कर्ण लिम्वूले व्यक्तिगत गोल गर्दै अग्रता तेब्वर पारे ।

पहिलो हाफको इन्जुरी समयमा झापा ११ का खमिर गिल्सन कन्दङ्वाले गरेको प्रहार पनि गोलमा परिणत भएको थियो ।

खेलको ५२ औँ मिनेटमा योगेश गुरुङले खमिरगिल्सन कन्दङ्वालाई मिलाई दिएको पासलाई झापा ११ का स्ट्राइकर कर्ण लिम्वूले उत्कृष्ट ढंगले गोल गरेका थिए ।

खेलको १३ औँ मिनेटमा विश्वास श्रेष्ठले डी एरिया नजिकबाट गरेको फ्रि किक प्रहार सुदुरपश्चिमका गोल रक्षक जीवन भट्टराईले पञ्च गर्दै उत्कृष्ट बचाउ गरेका थिए ।

सुदुरपश्चिमका गोलरक्षक विट भइसकेको अवस्थामा पनि स्ट्राइकर लिम्वूले गोललाई जाली चुमाउन असफल भए ।

मोफसलकै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगितामा विजेता टीमले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख पुरस्कार पाउनेछ ।

प्रतियोगितामा नेपालका उत्कृष्ट नौ र भारतको सिक्किम युनाइटेड क्वल गरी १० वटा टिमको सहभागिता रहेको छ ।

खेलमा झापा ११ का स्ट्राइकर कर्ण लिम्वू घोषित भए । उनले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

आइतवारको खेल नेपाल पुलिस क्लव र रुपन्देही ११ बीच हुने आयोजक समितिले जनाएको छ ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खेल क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताए ।

उनले खेलकुद महाविद्यालय बनाइने योजना सुनाए ।

Share Now

Leave a comment.