काठमाडौं, १९ फागुन। गिनिज बुकमा नाम लेखाउने उद्देश्यले आज शनिबार हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको उपदेश ‘धम्मपद’ बाचन गरेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डसहित मन्त्रीहरू, राजनैतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, विभिन्न क्षेत्रका व्यक्तित्व तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
विश्व कीर्तिमानी परिषद् नेपालद्धारा आयोजित यस कार्यक्रम मार्फत अहिंसाका प्रवर्तक भगवान गौतम बुद्धको जन्म नेपालमा भएको सन्देश विश्वमा फैलाउन सहयोग पुगेको कार्यक्रमको आयोजक विश्व कीर्तिमानी परिषद् नेपालले जनाएको थियो ।
भगवान बुद्धको जन्म स्थानका बारेमा केही कोणबाट भ्रम छर्ने प्रयास हुँदै आएकोले त्यसलाई चिर्न यो कार्यक्रम गरिएको परिषद्का उपाध्यक्ष प्रतिष्ठा अमात्य विष्टले बताएकी छन् ।
कार्यक्रमका लागि ७५ हजार पास छापिएको थियो । पास बाहेक पनि त्यतिकै संख्यामा सर्वसाधरण र सुरक्षा निकायका विभिन्न तहका राष्ट््रसेवकहरुको पनि उत्तिकै सहभागिता रहेको थियो ।
यसलाई गिनिज बुद्ध अफ दि वल्र्ड रेकर्डले मान्यता दिन बाँकी रहेपनि डेढ लाख मानिसलाई भेला गरेर भगवान गौतम बुद्ध नेपालमा जन्मेका थिए भन्ने सन्देश संसारभर फैलाउन भने यो कार्यक्रम सफल भएको छ ।


















