काठमाडौं, २८ कार्तिक । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो एक बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार बैठकमा पार्टीको आसन्न १४ औँ महाधिवेशनको विषयमा छलफल हुनेछ।
हिजो बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले महाधिवेशन कार्यतालिका संशोधनलगायत बैठक नभएको अवधिमा भएका काम कारवाही अनुमोदनका लागि आजको बैठकमा प्रस्ताव प्रस्तुत गर्ने निर्णय गरेको छ।
त्यसका अलवा आजको बैठकमा महाधिवेशनको तयारीका लागि विभिन्न समिति उपसमिति बनाउने लगायत विषयमा पनि छलफल हुँदैछ।
कांग्रेसको महाधिवेशन आगामी मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका छ।
कांग्रेसको १४ औं महाधिवेशन संशोधित कार्यतालिका अनुसार बाँकी रहेका गाउँ/नगर पालिका अधिवेशन कात्तिक ३०, प्रदेशसभा क्षेत्रीय अधिवेशन मङ्सिर ३, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक क्षेत्र मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मङ्सिर ६, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन मङ्सिर १० गते हुनेछ । यसैगरी प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गरिने छ।
अहिले विभिन्न जिल्लामा वडा अधिवेशन भइरहेको छ। चाडपर्व र क्रियाशील सदस्यता विवादको कारणले रोकिएका जिल्लाहरुको वडा अधिवेशन हिजोदेखि सुरु भएको हो।


















