दोहा(कतार), १ मंसिर । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले कतारको दोहामा भएको टी २० अन्तर्राष्ट्रिय सिरिजमा लगातार दोस्रो जित निकाल्दै सेरिज जितेको छ।
आज भएको दोस्रो खेलमा प्रतिस्पर्धी कतारलाई ६१ रनले पराजित गर्दै नेपाली महिला खेलाडीले तीन खेलको टी २० अन्तर्राष्ट्रिय सिरिज एक खेल बाँकी रहँदै २ ० ले जिते। पहिलो खेल नेपालले १ सय १९ रनले जितेको थियो।
कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले दिएको १ सय ३० रनको लक्ष्य कतारले पूरा गर्न सकेन । उसले १९.३ ओभरमा सबै विकेट गुमाएर ६८ रन मात्र बनायो।
कतारको ब्याटिंगमा कप्तान आयशाले सर्वाधिक २४ रन, केरी पौनसेटले १५ रन, ए मारेले ७, अलिना खानले ६, एस धडवाल र खादिजा इम्तियाजले ४।४, रिश्ना बानो र सहरिस्नावाफले एकएक रनको योगदान गरे ।
कतारलाई रोक्ने क्रममा नेपालको बलिंगमा सरस्वती चौधरीले ४, रुबिना क्षेत्रीले २ तथा सबनम राई ,संगीता राई र कविता जोशीले समान एक एक विकेट हात पारे।
यस पहिले टस जितेर ब्याटिंग रोजेको नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेटको क्षतिमा १ सय२९ रन बनाएको थियो।
नेपालको लागि कप्तान रुबिना क्षेत्रीले व्यक्तिगत पहिलो टी २० अन्तर्राष्ट्रियमा अर्धशतक अर्थात ५० रन बनाईन् । यस्तै कविता कुँवरले ३१ रन तथा अप्सरी बेगमले अविजित २३ रन बनाईन्।
नेपाललाई रोक्ने क्रममा कतारको बलिंगमा एन्जेलिन मारेले २ विकेट तथा अलिना खान, सबिजा पनायान र साची धाडवालले समान एक विकेट लिए।
खेलमा रुविना क्षेत्री प्लेयर अफ दी म्याच भइन ।
यो खेल संगै नेपाली महिला क्रिकेट टिमले टी २० अन्तर्राष्ट्रिय सिरिज विजयको इतिहास रचेको छ ।


















