Prakash Adhikari November 19, 2021

काठमाडौं, ३ मंंसिर । सर्वोच्च अदालतमा आज अधिकांश न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरणसहित सबैखाले मुद्दामा सुनुवाइ गर्नुभएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको थियो । दशवटा इजलासमा नौ वटा संयुक्त र एउटा एकल इजलास तोकिएको थियो । न्यायाधीश नहकुल सुवेदीको एकल इजलास बसेको छैन । बाँकी सबै इजलासमा सुनुवाइ भएको छ ।

न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, न्यायाधीशहरु मीरा खड्का र सुष्मालता माथेमा, न्यायाधीशहरु हरिकृष्ण कार्की र हरिप्रसाद फुयाँल, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ र टङ्कबहादुर मोक्तान, न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र कुमार रेग्मी, न्यायाधीशहरू अनिलकुमार सिन्हा र सपना मल्ल, न्यायाधीशहरू बमकुमार श्रेष्ठ र डा मनोजकुमार शर्मा तथा न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको इजलासमा सुनुवाइ भएको हो ।

प्रधानन्यायाधीश जबरासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको बिहीबारको पूर्ण बैठक (फूलकोर्ट) ले गोला प्रणालीसहित नियमावली पास गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि न्यायाधीश इजलासमा बसेर न्यायसम्पादन कार्यमा लाग्नुभएको छ ।

गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि न्यायालय सुधारको माग राख्दै न्यायाधीशले इजलासमा बस्न इन्कार गर्नुभएको थियो । सर्वोच्च अदालतको गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो ।

अदालतमा मुद्दाको चापअनुसार नियमतिरूपमा बेञ्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका थिए तर आजदेखि न्यायाधीश काममा फर्कनुभएको छ ।

Share Now

Leave a comment.