भरतपुर(चितवन), ८ मंसिर । नेकपा (एमाले) को १०आँै राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा सवारीसाधन चल्न रोक लाग्ने भएको छ । मानिसको चाप बढी हुने भएपछि व्यवस्थापन सहजका लागि सवारीसाधनमा रोक लगाइएको हो ।
प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार नारायणीको पुल, बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्रका सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको हो । बिहान ९ देखि साँझ ५ः३० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ । मानिसको चाप धेरै भएको ठाउँमा सवारीसाधनसमेत चले दुर्घटना हुन सक्ने भएकाले पूर्वतयारीका साथ सावधानी अपनाइएको उहाँले बताउनुभयो ।
आयोजकले २० स्थानमा डिस्प्ले बोर्ड राख्ने भएकाले सहभागीले गाडी रोकिने ठाउँ आसपासका बोर्डबाट समेत कार्यक्रम हेर्न पाउनेछन् । तामाङले भन्नुभयो, “यसले गर्दा कार्यक्रमस्थलको भीड कम हुन्छ ।” जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार सो दिन सुरक्षा प्रबन्धको सबै खालको व्यवस्थापन गरिएको छ । गाडी रोकिने नाकाहरुमा सुरक्षाकर्मी रहेर सुरक्षाको व्यवस्था गर्ने छन् । महाधिवेशनको उद्घाटन स्थल नारायणी नदी किनारमा बनाइएको छ । उद्घाटनमा पाँच लाख सहभागी गराउने सो पार्टीले जनाउँदै आएको छ ।
२५ स्थानमा ‘सेल्फी प्वाइन्ट’
नेकपा (एमाले)को १०औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ । उद्घाटनस्थलमा २५ स्थानमा सेल्फी प्वाइन्ट निर्माणको काम सुरु गरिएको हो ।
एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार चितवनतर्फ २१ र गैँडाकोटतर्फ चार सेल्फी प्वाइन्ट रहनेछन् । उहाँले भन्नुभयो, “मञ्चको दायाँ भागमा एमालेको झण्डा बोकेको गैँडा निर्माण गरिने छ ।” त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वी राखिने छ । उहाँका अनुसार यी दुई स्थायी संरचना निर्माणका लागि करिब रु पाँच लाख खर्च हुने अनुमान गरिएको छ ।
महाधिवेशन उद्घाटनस्थललाई थप आकर्षक बनाउनका लागि अन्य २३ ठाउँमा एमालेको प्रचारप्रसार गर्ने खालका तस्वीर राखिने छन् । मदन भण्डारी, भिआई लेनिनका तस्वीर पनि सेल्फी प्वाइन्टमा राख्ने व्यवस्था गरिएको श्रेष्ठले बताउनुभयो । ट्रेड युनियन महासङ्घको नेतृत्वमा निर्माण हुन लागेको मजदुरले उचालेको पृथ्वीले संसार बनाउने मजदुरको सम्मान गर्नुपर्छ भन्ने सन्देश दिने उहाँको भनाइ छ । यसका लागि रु चार लाख खर्च हुने अनुमान गरिएको छ ।
यस्तै एमालेको १०औँ महाधिवेशनको लोगो गैँडाले एमालेको झण्डा उठाएको प्रतिमा निर्माणका लागि रु एक लाख खर्च हुनेछ । यो फाइबरको बन्ने छ । नदी किनारमा स्थायीरूपमा राखिने यस्ता संरचनाले नदीको तटबन्ध गर्नका लागि राज्यको ध्यान पुग्ने श्रेष्ठ बताउनुहुन्छ । मञ्च निर्माणको काम ५० प्रतिशत सम्पन्न भइसकेको छ । उद्घाटनसत्रमा सहभागी हुने भीड नियन्त्रण गर्न पाँच स्थानमा बकेट (डोरीको छेकबार) निर्माण गरिने छ । दुई ड्रोनले नियमितरूपमा निरीक्षण गरिरहने छ ।
एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ । सो महाअधिवेशन उद्घाटनसत्रमा पाँच लाखको सहभागिता रहने नेकपा (एमाले)ले जनाएको छ । उद्घाटनसत्र नारायणी नदी किनारमा र बन्दसत्र सौराहामा गर्ने तय भएको छ ।


















