Prakash Adhikari December 8, 2021

काठमाडौं, २२ मंंसिर । यही मंसिर २४ गतेदेखि राजधानीमा आरम्भ हुने नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहभागी हुन जिल्ला जिल्लाबाट प्रतिनिधि आउने क्रम सुरु भएको छ ।

नेपाली कांग्रेसको भावि नेतृत्व चयन गर्ने यो अधिवेशनलाई विशेष महत्वका साथ हेरिदैछ ।

आगामी बर्ष संघीय संसदको प्रतिनिधिसभा ,प्रदेश सभा र स्थानीय तहको निर्वाचन हुने भएकोले पनि यसपटक महाधिवेशनलाई विशेष महत्वको रुपमा लिइएको छ ।

जिल्ला जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशनले निर्वाचित गरेका प्रतिनिधिहरु महाधिवेशनमा सहभागी हुन राजधानी आउने क्रम संगै पार्टी भावि नेतृत्व लिन केन्द्रीय कार्यसमितिको पदाधिकारी र सदस्यमा उम्मेद्वारी घोषणा पनि सुरु भएको छ ।

नेपाली कांग्रेसले शुक्रबारदेखि सुरु हुने १४औँ महाविधेशनका लागि महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका यी महाधिवेशन प्रतिनिधिहरुले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्छन् ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको वेभसाइटमार्फत सार्वजनिक गरेको यस नामावलीमा चार हजार ३१९ जना महाधिवेशन प्रतिनिधिको नाम राखिएको छ । यसमा क्रियाशील सदस्यता नम्बर, समावेशी क्लष्टर र सम्पर्क नम्बर पनि उल्लेख गरिएको छ ।

उक्त नामावलीमा पार्टीका भातृ संस्थाका ६०, शुभेच्छुक संस्थाका ६७ र विदेशस्थित पार्टीका जनसम्पर्क समितिका करिब १५० जना महाधिवेशन प्रतिनिधिको नाम भने थप हुन बाँकी रहेको समिति सचिव जगन्नाथ श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

यसैगरी सर्लाहीका चार सङ्घीय निर्वाचन क्षेत्र र महोत्तरीको एक सङ्घीय निर्वाचन क्षेत्रका १३० जना महाधिवेशन प्रतिनिधिको नाम आज साँझसम्म आइपुग्ने उहाँले बताउनुभयो । यस महाविधेशनमा जम्मा चार हजार ७०० भन्दा केही बढी सङ्ख्यामा महाधिवेशन प्रतिनिधि हुने समितिले जनाएको छ । महाधिवेशन प्रतिनिधिको आधिकारिक सूची भने समितिले निर्धारण गरेको निर्वाचन कार्यतालिका बमोजिम आगामी शुक्रबार प्रकाशन गरिनेछ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेभसाइटमार्फत् सार्वजनिक गरेको महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली तलको लिङ्कमा गएर हेर्न सकिन्छ ।

file:///C:/Users/rss9/Downloads/NC-name%20(1).pdf

Share Now

Leave a comment.