Prakash Adhikari December 16, 2021

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनुभएको छ ।

बुधबार राति निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र डा. शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित हुनुभएको हो ।

देउवा पक्षबाट उपसभापतिको उम्मेदवार बन्नुभएका विजयकुमार गच्छदार दुई मतान्तरले पराजित हुनभयो ।

निर्वाचन समितिका अनुसार खड्काले २१२१ र गुरुङले १९०८ मत पाउनुभयो । त्यस्तै विजय गच्छदारले १९०६, चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत पाउनुभयो ।

१४ औं महाधिवेशनमा खड्का र गच्छदार देउवा प्यानलबाट, गुरुङ र भण्डारी शेखर कोइराला प्यानलबाट, सुजाता कोइराला प्रकाशमान सिंह प्यानलबाट र दिव्यश्वरी शाह विमलेन्द्र निधि प्यानलबाट उम्मेदवार बन्नुभएको थियो ।

आचार्यले कुनै प्यानलमा नरही उम्मेदवारी दिनुभएको थियो ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भैसक्नुभएको छ ।

अब महामन्त्री पदको मतगणना बिहीबार विहान ८ बजेदेखि हुनेछ ।

 

Share Now

Leave a comment.