पिथौरागढ(उत्तराखण्ड, भारत), २९ मंंसिर(बीबीसी) । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले केही तत्त्वहरूले नेपाल र भारत बीच सम्बन्ध बिगार्न चाहेको बताउनुभएको छ।
उल्लेख्य मात्रामा नेपालीभाषीको समेत बसोबास रहेको भारतको उत्तराखण्ड राज्यमा मङ्गलवार भएको एक कार्यक्रममा बोल्दै मन्त्री सिहले त्यस्तो धारणा व्यक्त गर्नुभएको हो।
तर उक्त कार्यक्रममा बोल्ने क्रममा उहाँले दुई देश बीचको सम्बन्ध बिगार्न चाहने तेस्रो पक्ष को हो भन्ने खुलाउनुभएन।
कतिपय भारतीय नेताहरूले नेपाल र भारत बीचको सम्बन्ध बिगार्नका निम्ति चीनले भूमिका खेलेको बेलाबखत आरोप लगाउने गरेका छन्।
सिंहले उक्त कार्यक्रममा बोलेको ३२ मिनेट ४६ सेकेन्डको भिडिओ आफ्नै ट्विटर खाताबाट सेअर गर्नुभएको छ।
उक्त भिडिओमा उहाँले नेपालका सम्बन्धमा भन्नुभएको छ, “उत्तराखण्डको जहाँसम्म सवाल छ। नेपाल र तिब्बतको सीमा यससँग जोडिन्छ। नेपालको जहाँसम्म प्रश्न छ- नेपालसँग हाम्रो रोटी- बेटीको सम्बन्ध छ। नेपालसँग हाम्रो सांस्कृतिक सम्बन्ध छ। तर म यो जानकारी तपाईँलाई दिन चाहन्छु -केही तत्त्वहरू यस्ता छन्, जसले नेपाल र भारतको सम्बन्ध खराब गर्न चाहन्छन्।”
तर उहाँले भारतले नेपालसँगको सम्बन्ध कहिल्यै बिगार्न नचाहने आश्वस्त पार्न खोज्नुभएको छ।
सिंहले भन्नुभयो, “तर म सरकारको प्रतिनिधि भएको हिसाबले के भन्न चाहन्छु भने चाहे जसुकै होस्, हामीलाई शिर झुकाएर रहनु किन नपरोस् तर हाम्रो छिमेकी नेपालसँग हाम्रो सम्बन्ध टुट्न दिँदैनौँ। हाम्रो नेपालसँगको सम्बन्ध कहिल्यै बिग्रन दिँदैनौँ।”
नेपाल-भारत सम्बन्ध
नेपाल र भारत बीच पछिल्ला वर्षहरूमा सम्बन्ध सुमधुर रहेको छैन।
र, त्यसको पछिल्लो सुरुवात पनि उत्तराखण्ड राज्यबाटै तिब्बततर्फ जाने एउटा सडकको निर्माण तर भारतीय रक्षा मन्त्री सिंहद्वारा त्यसको उद्घाटनसँग जोडिएको छ।
सिंहले सन् २०२० को मे महिनामा नेपाल, भारत र चीन बीचको त्रिदेशीय बिन्दु लिपुलेक हुँदै तिब्बत जोड्ने मानसरोवर सडकको उद्घाटन गर्नुभएको थियो।
नेपालले आफ्नो दाबी गर्दै आएको लिपुलेक र लिम्पियाधुरा क्षेत्रबाट उक्त सडक निर्माण गरिएकाले नेपालले भारतसमक्ष त्यसको कूटनीतिक रूपमै विरोध जनाएको थियो।
उक्त विषयलाई लिएर नेपाल र भारत एउटा निर्णयमा पुग्न सकेका छैनन् भने दुई देश बीचको सम्बन्धमा पनि उल्लेख्य सुधार हुन नसकेको बताइन्छ।
त्यस्तो बेलामा आएको सिंहको उक्त भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
तर उनले नेपालसँग सम्बन्ध नबिगार्ने बताउँदै गर्दा फेरि पनि लिपुलेक सम्बन्धी चर्चा गरेका छन्।

लिपुलेकबारे नेपाल र भारतबीच विवाद जारी छ
मन्त्री सिंहले नेपाली भूमिबाट बिस्तार गरिएको भनेर नेपालमा व्यापक विरोध भएको उक्त सडकबारे मङ्गलवार पनि उल्लेख गर्नुभएको छ।
ू‘। तिब्बतसँग पनि हाम्रो भावनात्मक सम्बन्ध रहेको छ। यद्यपि आज अवस्था बदलिइसकेको छ।ू मन्त्री सिंहले भन्नुभयो,
तर मानसरोवर यात्राका लागि लिपुलेकबाट जाने बाटोलाई पनि पूरा गरिसकिएको छ। त्यसको जानकारी तपाईँहरू सबैलाई भइसक्यो नै होला।ू


















