Prakash Adhikari December 16, 2021

काठमाडौं, १ पौष। नेपाली कांग्रेसको १४ औं महाधिवेशनले महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई निर्वाचित गरेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भएको मतगणनामा सर्वाधिक मत हासिल गरेपछि गगन थापा पहिलो महामन्त्री निर्वाचित हुनुभएको हो भने दोस्रो स्थानमा विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको हो ।

महामन्त्री निर्वाचित थापा शेखर कोइराला समूहबाट र शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बन्नुभएको थियो ।

महामन्त्रीको निर्वाचनमा खसेको कूल ४६८२ मतमा थापाले ३०२३ मत र शर्माले १९८४ मत ल्याउनुभयो ।

सभापति निर्वाचित भैसक्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलबाट डा. प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिनुभएको थियो।

देउवा दोस्रो चरणबाट सभापतिमा निर्वाचित हुनुभयो तर उहाँको तर्फबाट महामन्त्री बन्नुभएका डा. महत र पौडेल दुबै बिजयी बन्न सक्नुभएन ।

महतले १५५६ र पौडेलले १३९३ मत पाउनुभयो ।

पार्टी सभापतिको पहिलो चरणमा शेरबहादुर देउवाले २२५८ मत ल्याउनुभएको थियो ।

पार्टी उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्काले २१२१ मत र सोही प्यानलबाट २ मतले पराजित विजय गच्छदारले १९०६ मत ल्याउनुभयो ।

उपसभापतिमासम्म प्यानलमै मत आएको देखिन्छ ।

प्रश्न उठेको छ, २२५८ मत भएको पार्टी सभापति शेरबहादुर देउवाको प्यानलका मत महामन्त्रीमा कता गायब भए ? प्यानलका ७ सय २ मत गायब भएर ४ सय २८ मतले डा.महत हार्नुभएको छ ।

कांग्रेसको देउवा समूहमा भएको अन्तरघातले सभापति देउवाले आफूले रुचाएका सारथिको साथ गुमाउन परेको छ ।

शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका मिनेन्द्र रिजालले ८०९ मात्र मत पाउनुभयो। आफ्नै प्यानलका गगन थापाले ३०२३ मत ल्याउदा उहाँलाई प्यानलको मत परेन । प्यानलबाटै विश्वप्रकाशलाई मत गयो ।

विमलेन्द्र निधिको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका राजाराम कार्कीले १०६ मत पाउनुभयो ।

Share Now

Leave a comment.