काठमाडौं, २ पौष । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत भएको निर्वाचनमा थप तीन जना सहमहामन्त्रीको नतिजा सार्वजनिक भएको छ ।
नेपाली कांग्रेसको निर्वाचन समितिले दिएको जानकारी अनुसार थारु समूहबाट सहमहामन्त्रीमा उमाकान्त चौधरीको निर्वाचित हुनुभएको छ ।
शुक्रबार सम्पन्न मतगणनामा डा. शेखर समूहबाट उम्मेदवार बन्नुभएका तेजुलाल चौधरीलाई पराजित गर्दै संस्थापनबाट उम्मेवारी दिनुभएका उमाकान्त चौधरी निर्वाचित हुनुभएको हो ।
समितिका अनुसार उमाकान्त चौधरीले २६७८ पाउनुभयो भने तेजुलाल चौधरीले १८३७ मत । निर्वाचनमाकुल ४६८७ मत खसेको थियो ।
खस-आर्यतर्फमा किशोरसिंह राठौर निर्वाचित
नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित हुनुभएको छ ।
शुक्रबार सकिएको मतगणनामा डा.शेखर समूहबाट उम्मेदवार बन्नुभएका देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित हुनुभएको हो ।
समितिका अनुसार किशोरसिंहले २५७६ मत पाउनुभयो भने देवराजले २५५९ मत ल्याउनुभयो ।
पिछडिएको क्षेत्रबाट बद्रि पाण्डे निर्वाचित
नेपाली कांग्रेसको सहमहान्त्रीमा पिछडिएका क्षेत्रतर्फबाट बद्री पाण्डे निर्वाचित हुनुभएको छ ।
शुक्रबार सकिएको मतगणनामा संस्थापन पक्षका जीवनबहादुर शाहीलाई पराजित गर्दै डा. शेखर समूहबाट पाण्डे निर्वाचित हुनुभएको हो।


















