सानेपा(ललितपुर), २ पौष । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत भएको निर्वाचनमा मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव निर्वाचित हुनुभएको छ भने मुस्लिम तर्फको सहमहामन्त्रीमा फरमूल्लाह मन्सूर निर्वाचित हुनुभएको छ ।
मधेशतर्फको सहमहामन्त्रीको निर्वाचनमा डा.शेखर कोइराला समूहबाट उम्मेद्वारी दिनुभएका रामकृष्ण यादवलाई पराजित गर्दै संस्थापन तर्फका महेन्द्र यादव निर्वाचित हुनुभएको हो ।
समितिका अनुसार महेन्द्रले २३३० मत पाउनुभयो भने रामकृष्णले १८२० मत । यस्तै रञ्जित कर्णले ४७२ मत पाउनुभयो । सहमहामन्त्रीमा कुल मत ४६९७ खसेको थियो भने ७५ मत बदर भएको थियो ।
मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर
नेपाली कांग्रेसको मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित हुनुभएको छ ।
डा.शेखर कोइराला समूहबाट उम्मेद्वारी दिनुभएका शेख वकिललाई पराजित गर्दै संस्थापन पक्षका फरमुल्लाह निर्वाचित हुनुभएको हो ।
निर्वाचन समितिका अनुसार फरमुल्लाहले २७७६ मत ल्याउनुभयो भने शेखले १८७१ मत पाउनुभयो । यो समूहमा कुल मत ४६९५ खसेको थियो भने ४८ मत बदर भएको थियो ।


















