काठमाडौं, २ पौष । नेपाल क्रिकेट संघ (क्यान)को अनुशासनको कारबाहीमा परेका राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी सहित चार क्रिकेटरले आफूहरुमाथि गरिएका कारबाही र खेलाडीहरुको वर्गीकरणमा पुनर्विचार गर्न माग गर्नुभएको छ।
शुक्रबार नक्सालस्थित होटल क्राउन प्लाजामा पत्रकार सम्मेलन गर्दै कप्तानबाट हटाइएका मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले यस्तो अनुरोध गर्नुभएको हो ।
राष्ट्रिय टिमको प्रदर्शन सन्तोषजनक रुपमा अगाडि बढिरहेको बेलामा देशको इज्जत बढाउन खेल्ने खेलाडीहरुमाथि क्यानले पटक पटक अपमान गरेको गुनासो कारबाहीमा परेका खेलाडीहरुले गर्नुभएको छ।
नेपाली क्रिकेटमा विकसित भइरहेको पछिल्लो घटनाक्रमले हामीलाई निकै दुःखी बनाएको छ। यसबारे हामीले आफ्नो आधिकारिक धारणा यसै प्रेस बीज्ञप्ती मार्फत राखेका छौं। #NepalCricket pic.twitter.com/lZFvoZBjvs
— Dipendra Singh Airee (@DSAiree45) December 17, 2021
चारै जनाले आफूहरुलाई जिम्मेवारीबाट हटाउनुको साथै ६ महिनासम्म सेन्ट्रल कन्ट्र्याक्टमा नराख्ने जस्ता कारबाही गरिएको समाचारले निकै दुखी बनाएको बताउनुभयो।
“के हामीले नेपाली क्रिकेटमा आजसम्म गरेको समर्पणको सम्मान यही हो ?”, खेलाडीहरुले विज्ञप्ति निकालेर सोध्नुभएको छ, “आफ्नो अधिकारका लागि आवाज उठाएकै आधारमा देशका लागि वर्षौँ खेलेका,आफ्नो इच्छा आकांक्षा मारेर क्रिकेटमा लागेका खेलाडीहरुलाई यसरी कारबाही हुन्छ भने भोलिका दिनमा नयाँ पुस्ता कसरी आकर्षित होला ?”
कारबाहीमा पर्नुभएका कप्तान र उपकप्तानसहितका खेलाडीहरुले क्रिकेटमा देखिएका सबै समस्या हल गर्न पनि माग गर्नुभएको छ । “अहिलेका सबै समस्या समाधान होऊन्। खेलका लागि राम्रो वातावरण नबनोस्”, खेलाडीहरुले सोध्नुभएको छ, “यसका लागि क्यानले अभिभावकीय भूमिका खेल्दै यो निर्णयलाई पुनर्विचार गरोस्। हामी र हामी जस्ता क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीहरूले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नआओस्।”
कारबाहीमा परिसक्नुभएका खेलाडीहरुले पछिल्लो समय खेलाडीको ग्रेडिङलाई लिएर देखिएको विवादबारे पनि बोल्नुभएको छ।
“पछिल्लो समय खेलाडीहरुको ग्रेडिङलाई लिएर जुन विवाद देखिएको छ, यसले हामीलाई अत्यन्तै दुखी बनाएको छ”, विज्ञप्तिमा भनिएको छ, “हामीले बुझेको खेलाडीहरूको ग्रेडिङ उसले पाउने तलब मात्रै होइन। देशका लागि गरेको योगदानको कदर पनि हो, अझै राम्रो गर्न प्रोत्साहन पनि हो।”
क्यानले गरेको ग्रेडिङमा देखिएका समस्या समाधान गर्दै अन्यायमा परेका खेलाडीहरूको ग्रेड बढाउँदै लाने भनिए पनि त्यसलाई क्यानले बेवास्ता गरेको आरोप कारबाहीमा परेका कप्तान र उपकप्तानसहितका खेलाडीहरुले लगाउनुभएको छ।


















