काठमाडौं, ३ पौष। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका नायब सुब्बासंग दुब्र्यबहार गरेकानेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीइओ) डा. धनञ्जय रेग्मी निलम्बित हुनुभएको छ।
शुक्रबार पर्यटन सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बोर्ड बैठकले चन्द्र रिजालको संयोजकत्वमा ११ सदस्यीय छानविन समिति गठन गर्दै रेग्मीलाई निलम्बन गरेको हो। रिजाल बोर्डका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ।
सचिव न्यौपानेले छानविन समिति बनाइएको जानकारी दिँदै छानविन प्रतिवेदन नआउन्जेलका लागि रेग्मीलाई पदीय दायित्वबाट मुक्त गरिएको बताउनुभयो।
बोर्डको काम कारवाही नियमित गर्न वरिष्ठ निर्देशक नन्दिनी लाहे थापालाई निमित प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ।
स्रोतका अनुसार रेग्मी विरुद्ध नैतिक आचरण, पदीय दुर्ब्यबहार र आर्थिक अनियमितता गरेको बोर्डमा उजुरी परेको छ। यही आधारमा छानविन समिति गठन गरिएको हो।
तिहारको भाइटीकाको दिन बिहान लन्डनबाट नेपाल आएका उनले ६ बोतल मदिरा ल्याएको देखेपछि भन्सारका नासु सुमन थापाले रोक्न खोज्द रेग्मीले “म को हो चिनेको छ ? म देश चलाउने मान्छे हुँ” भन्दै थप्पड हानेको सुमनको आरोप छ ।
रेग्मीले थप्पड हानेको सीसीटीभी फुटेज समेत सार्वजनिक भएपछि पर्यटन सचिव यादब कोइरालाले नै लिखित स्पष्टीकरण सोध्नुभएको थियो । उहाँ रक्सी पिएकै अवस्थामा विमानस्थलबाट बाहिरिनुभयो ।
उहाँलाई भन्सारबाट सोझै काठमाडौं मेडिकल कलेज लगेर मापसे परीक्षण गरिएको थियो। हवाई यात्रा गरेको यात्रुले मदिरा पिउनु अनौठो थिएन । पिएको पुष्टी भयो।
त्यसपछि रेग्मीलाई दुर्व्यवहार गरेकोले पाँच हजार जरिवाना गरिएको थियो। यो अधिकतम जरिवाना हो। रेग्मीका नाममा काटिएको जरिवानाको रसिद भन्सार कार्यालयमा सुरक्षित राखिएको छ।
पूर्वमन्त्री योगेश भट्टराईको कार्यकालमा नियुक्ति पाउनु भएका रेग्मीलाई हटाउने उपाय खोजेको सरकारलाई रेग्मीको दुब्र्यबहार गतिलो अस्त्र बनेको छ ।


















