ढाका(बंगलादेश), ४ पौष । बंगलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम लिगमा नेपाल भारतसँग पराजित भएको छ।
बंगलादेशको राजधानी ढाकास्थित सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा दिउँसो भएको खेलमा भारतले नेपाललाई १–० गोल अन्तरले हराएको हो।
भारतका लागि प्रियंका देवीले ६६औँ मिनेटमा गोल गर्दै भारतलाई जित दिलाइन। सुमाती कुमारीले प्रियंकालाई गोलको अवसर सिर्जना गरेकी थिइन्।
पाँच टोली सहभागी प्रतियोगितामा शीर्ष दुईमा रहेको नेपालले भारतसँग बराबरी गरेको भए पनि नेपाल फाइनलमा पुग्ने थियो।
भारतको लागि भने फाइनलमा पुग्न यो खेल जित्नै पर्ने दबाबमा थियो ।
यो जितसँगै भारत भने ३ जित र १ हारबाट ९ अंक जोड्दै पहिलोपटक फाइनलमा पुगेको छ।
नेपालले ४ खेलबाट ७ अंक जोडेको छ। बंगलादेशको पनि ७ अंक नै छ।
पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६–० ले हराएको थियो। यसपछि तेस्रो खेलमा नेपालले भुटानलाई ४–० गोलले हराएको हो।
भारतले पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा भुटानलाई हराएको थियो। तेस्रो खेलमा भारत बंगलादेशसँग हारेको थियो।
आजै बंगलादेशले श्रीलंकासँग अन्तिम खेल खेल्दै छ।
यदि श्रीलंकाले बंगलादेशलाई पराजित गरेमा नेपाल र भारत फाइनलमा फेरि भिड्ने छन् । हैन बंगलादेशले जित्यो भने नेपालको फाइनल नपुगी यात्रा टुंग्याएर फर्कने छ ।


















