Prakash Adhikari December 19, 2021

 

अमृतसर(पञ्जाब,भारत), ४ पौष (बीबीसी) ।भारतको अमृतसर सहरस्थित सिख धर्मावलम्बीको पवित्र स्थल स्वर्ण मन्दिरमा अपवित्र कार्य गरेको आशङ्कामा एक व्यक्तिको पिटीपिटी हत्या भएको प्रहरीले बताएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त घटना शनिवार प्रार्थनाका बेला भएको हो।

ती युवक स्वर्ण मन्दिरको गर्भगृहमा प्रवेश गरेको बताइएको छ।

सिख मन्दिरको गर्भगृहमा पवित्र धर्मग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ राखिएको हुन्छ।

गर्भगृहमा छिरेर ती व्यक्तिले गुरु ग्रन्थ साहिबसँगै राखिएको प्रार्थनाका बेला प्रयोग हुने तरबार छुने प्रयास गरेको बताइएको छ।

त्यसै बेला त्यहाँ परिचालित सुरक्षाकर्मी र भक्तजन उनीमाथि जाइलागेका थिए।

ती व्यक्तिमाथि स्थानीय समयानुसार साँझ पौने ६ बजेतिर आक्रमण भएको थियो।

स्वर्ण मन्दिर

स्वर्ण मन्दिरः घटनापछि भेला भएका मानिसहरू

साँझको प्रार्थनाका बेला भएकाले उक्त घटना टेलिभिजनमा पनि प्रसारित भइरहेको थियो।

त्यसपछि के भयो भन्ने स्पष्ट छैन। प्रहरीले चाहिँ आफू घटनास्थलमा पुग्दा उक्त व्यक्ति मृत पाइएको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

मृतक २० २५ वर्षको जस्तो देखिएको प्रहरीले जनाएको छ। उनको परिचय खुलिसकेको छैन।

एउटा ट्वीटमा पञ्जाबका मुख्यमन्त्री चरणजीत सिंह चन्नीले ‘उक्त नृशंस कृत्यका पछाडिको उद्देश्य र वास्तविक षड्यन्त्रकारीहरूप्रति शून्य सहनशीलता अपनाउन’ प्रहरीलाई आदेश दिएको लेख्नुभएको छ।

https://twitter.com/CMOPb/status/1472247250025783302

एक व्यक्तिलाई सानो आकारको पवित्र धर्मग्रन्थ गुरु ग्रन्थ साहिबलाई मन्दिरनजिकै एउटा पोखरीमा फ्याँकेको आरोपमा पक्राउ गरिएको केही दिनपछि यो घटना भएको हो।

सिख मन्दिरलाई अपवित्र बनाइने विषय सिख समुदाय बीचको एउटा निकै भावनात्मक मामिला हो।

राजनीतिक मुद्दा

आगामी वर्ष विधानसभा निर्वाचन हुन लागेको पञ्जाबमा धर्म पनि एउटा मुख्य विषय राजनीतिक मुद्दा बनेको छ।

चन्नी र उहाँको कङ्ग्रेस पार्टीमाथि प्रतिपक्षी राजनीतिक दलहरूले उक्त क्षेत्रका पवित्र स्थलहरूको सुरक्षाका लागि आवश्यक कार्य नगरेको आरोप लगाउँदै आएका छन्।

विपक्षी अकाली दलका एकजना सांसद बलविन्दर भुन्दरले शनिवारको घटनाको भर्त्सना गर्नुभएको छ।

स्थानीय समाचार च्यानल एनडीटीभीसँग बोल्दै उहाँले उक्त घटना पञ्जाबलाई कमजोर पार्न गरिएको सुनियोजित रूपमा गराइएको दाबी गर्नुभयो।

‘केही मानिसहरूले विगत पाँच वर्षदेखि यसलाई राजनीतिक खेल बनाएका छन्’, उहाँले भन्नुभयो।

पहिला के भएको थियो

बीबीसी हिन्दीका अनुसार सन् २०१५ मा फरिदकोट जिल्लामा गुरु ग्रन्थ साहिब बिगार्न खोजेको भन्दै ठूलो प्रदर्शन भएको थियो। त्यस बेला प्रहरीले गोली चलाउँदा दुई प्रदर्शनकारीको मृत्यु भएको थियो।

सन् २०१७ मा पञ्जाब विधानसभाको निर्वाचनमा शिरोमणि अकाली दल र बीजेपीको गठबन्धन सोही घटनाका कारण पराजित भएको बताइन्छ।

गत अक्टोबर महिनामा पनि सिङ्घ सीमामा किसानहरूको प्रदर्शनका बेला कथित अपमानको घटनामा निहङ्गहरूले एक व्यक्तिको हत्या गरिदिएका थिए।

मृतकमाथि सिख धर्मग्रन्थको अपमान गरेको आरोप लागेको थियो।

Share Now

Leave a comment.