Prakash Adhikari December 19, 2021

धुञ्चे(रसुवा), ४ पौष । उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य सुरू भएको छ ।

आयोजनाको अधिकांश संरचना निर्माण सम्पन्न भए पनि कोभिड–१९ सङ्क्रमणका कारण स्थगन रहेको उपकरण जडान कार्य भर्खरै मात्र सुरू भएको हो ।

आयोजनाका प्रमुख सत्यराम ज्याख्वाका अनुसार १११ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमताको उपकरण जडान गर्न जिम्मा पाएको भारतीय कम्पनी भोइथ इण्डियाले दक्ष जनशक्ति उपलब्ध गराएलगत्तै उपकरणको जडान अगाडि बढेको हो ।

उपकरण जडान गर्न करिब एक वर्षको समयावधि लाग्ने र सन् २०२२ सम्ममा आयोजनाले विद्युत् उत्पादन गर्ने कार्य तालिका रहेको उहाँले जानकारी दिनुभयो ।

सन् २०१३ बाट शुभारम्भ भएको सो आयोजनले विद्युत्गृहमा पानी पठाउने चार हजार १८५ मिटर लामो हेडरेस सुरूङ एवं विद्युत् गृह निर्माणको संरचना निर्माण गरिसकेको छ । विद्युत्गृहमा पानी लान भोटेकोसीको बाँध बाँध्ने कामसमेत निर्माण सम्पन्न गरी पानी बालुवा थिग्य्राउने भूमिगत डिसेण्डर पोखरी भने निर्माणको चरण अन्तिम चरणमा रहेको जनाइएको छ ।

गतहप्ता नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको स्थलगत निरीक्षण एवं छिटो कार्य सम्पन्न गर्ने निर्देशनपश्चात उपकरण जडानका लागि भोइथ इण्डियाले दक्ष जनशक्ति उपलब्ध गराएको बताइन्छ ।

उहाँले गतहप्ता निर्माणाधीन आयोजनाको निर्माणस्थलबाटै आआफ्नो जिम्माको काम छिटो सम्पन्न गराउन ठेकेदार कम्पनीलाई निर्देशन दिएलगत्तै कोभिडको डरले सुस्ताइरहेका ठेकेदार कम्पनीका जिम्मेवार व्यक्ति पुनःजागरुक भएको आयोजनाका प्राविधिक बताउँछन् ।

उपकरण जडानका लागि ४० जनाभन्दा बढी जनशक्तिले दैनिक बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म काम गरिरहेका छन् । आयोजनाको सर्चटैङ्क भने भित्रिभागबाट निर्माण भइरहेको बताइएको छ ।

Share Now

Leave a comment.