Prakash Adhikari December 21, 2021

 

काठमाडौं, ६ पौष । अर्थ मन्त्रालय र केन्द्रीय बैंकको पछिल्ला २ निर्णयले सेयर बजारमा सकारात्मक माहोल पैदा भएको छ । जस अनुसार मंगलबार नेप्से सूचक ५६.७३ अंकले बढेर २४१५.५५ बिन्दुमा आइपुगेको छ ।

२ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

मंगलबार २ सय २६ कम्पनीको ४९ लाख ७४ हजार कित्ताभन्दा बढी सेयर कारोबार भएको छ ।

आज शेयरबजारमा सबै समूहमा हरियाली छाएको छ । २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा पहिलो स्थानमा हिमालयन डिष्टिलरी देखिएको छ भने दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र नेपाल टेलिकम परेका छन् ।

अर्थ मन्त्रालयले स्थानीय निकायको सञ्चित कोषको ८० प्रतिशत रकमलाई निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको छ ।
यसबाट तत्कालै वित्तीय प्रणालीमा झन्डै १ खर्ब रुपैयाँ तरलता वृद्धि हुनेछ । यो सेयर बजारका लागि निकै सकारात्मक पाटो देखिएको छ ।

यस्तै, केन्द्रीय बैंकले सोमबार नै आयातमा कडाई गर्ने नीति लिएको छ । जस अनुसार अब बैंकहरुमा प्रतितपत्र (एलसी) खोल्दा आयातकर्ताले शतप्रतिशतसम्म मार्जिन राख्नुपर्नेछ । अब वस्तुको प्रकृत्ति अनुसार न्यूनतम ५० प्रतिशतदेखि अधिकतम शतप्रतिशत मार्जिन राखेर मात्र सामान आयात गर्न पाइनेछ ।
मदिराजन्य पदार्थ, सूर्तीजन्य पदार्थ, चाँदी, फर्निचर लगायतका वस्तु आयातमा शतप्रतिशत मार्जिन राख्नुपर्ने भएकोले बैंकमा तरलता अभाव नहुने देखिएको छ ।

चिनी तथा मिठाइजन्य वस्तु, ग्लुकोज, मिनरल वाटर, इनर्जी ड्रिंक, ककटेल ड्रिङ्स, मेकअपका सामान, स्याम्फू, कपालमा लगाउने तेल तथा कलर, टोपी, जुत्ता, छाता लगायत वस्तु आयातमा पनि शतप्रतिशत मार्जिन राख्नुपर्नेछ ।

त्यस्तै निर्माण सामाग्रीहरू इँटा, मार्बल, टायल्स, सेरामिक्सजस्ता वस्तुमा पनि शतप्रतिशत मार्जिन तोकिएको छ । त्यस्तै, मोटरसाइकल तथा स्कुटर आयात गर्दा ५० प्रतिशत मार्जिन राख्नुपर्ने भएको छ ।

यस व्यवस्थाले आयातमा कडाई भई आन्तरिक उत्पादनमूलक क्षेत्रमा लगानी बढ्ने देखिएको छ । यस्तै, यसरी आयातकर्ताले मार्जिन राख्नुपर्दा बैंकहरुमा निक्षेप पनि वृद्धि हुन जानेछ । यसबाट तरलता सहज हुनेछ ।

यी २ व्यवस्थाले लगानीयोग्य रकम सहज हुने र यसको सकारात्मक प्रभाव पुँजी बजारमा पर्ने देखिएको छ ।

Share Now

Leave a comment.