काठमाडौ, ६ पौष । नेपाल वायुसेवा निगमलाई तत्काल निजीकरण नगरिने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगममा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै निगमलाई निजीकरण नगर्ने बताउनुभएको हो।
न्यूरोडस्थित निगमको कार्यालयमा अवलोकन भ्रमण तथा नेपाल वायुसेवा निगम क्लबको उद्घाटन गर्न सचिव महेश्वर न्यौपानको साथमा निगमको केन्द्रीय कार्यालय पुग्नुभएका मन्त्री आलेले कर्मचारीहरुलाई संबोधन पनि गर्नुभएको थियो ।
निगमका बोर्ड सदस्य र कर्मचारीहरुलाई संबोधन गर्दै मन्त्री आलेले राष्ट्रिय ध्वजाबाहक वायु सेवा निगमसँग पर्याप्त विमान नहुनु विडम्बना भएको बताउनुभयो । उहाँले नयाँ विमान थप्न नेपाल सरकारले सहयोग गर्ने वचन दिनुभएको छ ।
मन्त्रालयका सचिव महेश्वर न्यौपाने पनि सरिक रहनुभएको कार्यक्रममा बोल्दै मन्त्री आलेले आफूले दवावमा परेर काम नगर्ने तर निगमसँग भएको दक्ष प्राविधिक एवं प्रशासनिक जनशक्तिलाई पूर्ण उपयोग गरी जहाजको संख्या बढाउने र भाडा प्रतिस्पर्धी बनाउन सघाउने बताउनुभयो ।
मन्त्री आलेले निगमको उन्नति र प्रगतिमा साथ दिएर राष्ट्रिय ध्वजावाहकको गरिमा बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमलाई संबोधन गर्दै पर्यटन सचिव न्यौपानेले कर्मचारीको प्रतिवद्धता, उडानमा नियमितता र सेवाको गुणस्तरमा बृद्धि गरी निगमलाई माथि उठाउन सकिने बताउनुभयो ।
कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले ९९ प्रतिशत कर्मचारी निगमप्रति प्रतिवद्ध भएको बताउनुभयो । उहाँले हालैमात्र निगमले उडानमा रहेका विमान र यात्रुहरुको सुरक्षामा असर नपार्ने तर खतरायुक्त मानिने सामान ढुवानी गर्ने अनुमति पाएको, ख्यातिप्राप्त विमान कम्पनीले निगमको टिकट उपयोग गर्ने सहमति गरी निगमले विश्वमा प्रतिष्ठा आर्जन गरेको र अन्तर्राष्ट्रिय बिक्री कक्षमा नेपाली उत्पादन बिक्रीकेन्द्र खोली नेपाली उत्पादनको बजार विस्तारमा सहयोग पु¥याउने प्रयास गरेको जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष अधिकारीले नयाँ जहाज खरिदको कार्ययोजना बनाइरहेको भन्दै यसका लागि सरकारसमक्ष १५ अर्ब रुपैया दिन आग्रह गर्नुभयो ।उहाले यो रकम पुँजी वृद्धिका लागि उपयोग गरिने र कर्मचारीको तलबमा नलगाउन बताउदै भन्नुभयो, “हामी नयाँ जहाज किन्छौ ।”
त्यस अगाडि मन्त्री आलेले निगमले खोलेको नेपाल वायुसेवा निगम क्लव पनि उट्घाटन गर्नुभएको थियो । क्लबमा स्नुकर खेलको व्यवस्था छ ।
यस पहिले निगमको महाप्रबन्धक नियुक्त भएर आउनुभएका डिमप्रकाश पौडेलले निगमलाई कम्पनीमा लैजान प्रबन्धपत्र र नियमावलीको मस्यौदासहित मन्त्रालयमा सिफारिस गरेपछि उहाँलाई निगम छिर्नै नदिने गरी कर्मचारीले विरोधमा आन्दोलन सुरु गरेका थिए ।
अहिले उहाँलाई सरकारले मन्त्रालयमा तानेको छ । कार्यकारी अध्यक्षमा युवराज अधिकारी आएपछि आन्दोलनमा उत्रिएका कर्मचारीहरु काममा फर्केका छन् । सञ्चालक समितिको मिटिड.पनि बसेको छ । अव निगम विस्तारै सामान्य अवस्थामा फर्कन लागि रहेको छ ।





















