सानेपा(ललितपुर), ६ पौष । नेपाली काँग्रेसको प्रदेश १ तर्फको खुला केन्द्रीय सदस्यमा अमृत अर्याल र राजीव कोइराला विजयी हुनुभएको छ । अर्याल सभापति शेरबहादुर देउवा र कोइराला डा. शेखर कोइराला समूहबाट केन्द्रीय सदस्यमा विजयी हुनुभएको हो ।
यस्तै महिलातर्फ देउवा समूहकी महेन्द्रकुमारी लिम्बू निर्वाचित हुनुभएको हो ।
यस्तै केन्द्रीय सदस्य मुस्लिम २ पदमा अब्दुल रज्जक र अब्दुल सतार निर्वाचित हुनुभएको छ ।
केन्द्रीय सदस्य मुस्लिमतर्फको एक पदमा जाबेद खातुन जागा निर्वाचित हुनुभएको छ । अन्य पाँच उम्मेदवारलाई पछि पार्दै खातुन निर्वाचित हुनुभएको हो ।
बागमती प्रदेश खुलातर्फका दुई पदमा ध्यानगोविन्द रञ्जित र राजेन्द्रकुमार केसी (राजन) विजयी हुनुभएको छ ।
बागमती प्रदेश महिला १ पदमा उर्मिला नेपाल केसी निर्वाचित हुनुभएको छ । दुई प्रतिस्पर्धीलाई पछि पार्दै केसी २३ सय ४९ मत ल्याएर निर्वाचित हुनुभएको हो ।
त्यसैगरी केन्द्रीय सदस्य मधेसी महिलातर्फ चार पदका लागि भएको निर्वाचनमा नागिना यादव, मञ्जुकुमारी यादव, मिनाक्षी झा र मुक्ताकुमारी यादव निर्वाचित हुनुभएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र (नेपाली) पोखरेल र ध्रुव वाग्ले नेपाली काँग्रेसको केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ ।दुवै जना गण्डकी प्रदेशको खुलातर्फको केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो।
कर्णाली प्रदेशबाट खुला केन्द्रीय सदस्यमा राजीवबिक्रम शाह २८२० र कर्णबहादुर बुढा २२०० मतका साथ निर्वाचित हुनुभएको छ ।
कर्णाली प्रदेशबाटै महिला केन्द्रीय सदस्यमा जानकी सिंह २६२४ मतका साथ विजयी हुनुभएको निर्वाचन समितिले जानकारी दिएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशबाट खुला दुई केन्द्रीय सदस्यमा डा. रणबहादुर रावल र यज्ञराज जोशी विजयी हुनुभएको छ । सभापति शेरबहादुर देउवा प्यानल बने रावल र जोशी दुबै जना विजयी हुनुभएको हो ।
थारु तर्फको खुला केन्द्रीय सदस्यमा रामजनम चौधरी र योगेन्द्र चौधरी विजयी हुनुभएको छ । त्यस्तै थारु महिलातर्फ कल्पना चौधरी २५२४ र जीवन राना २३४९ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।


















