Prakash Adhikari December 24, 2021

काठमाडौं, ९ पौष । नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले पार्टीको महामन्त्रीमा पराजित भए पनि पार्टीमा आफ्नो हैसियतमा निरन्तर काम गरिरहने बताउनुभएको छ ।

शुक्रबार नेपाली कांग्रेसको बारेमा समाचार लेख्ने पत्रकारहरुसंगको भेटघाटमा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले १४ औं महाधिवेशनमा अपेक्षा अनुसार आफ्नो पक्षमा नतिजा नआएको बताउनुभयो ।

उहाँले पराजयको बारमा पार्टीका शुभचिन्तकहरुले समीक्षा गरिरहेको उल्लेख गर्दै आफूले हैसियतअनुसार पार्टी र देशका लागि काम गरिरहने बताउनुभयो ।

‘नतिजा अपेक्षा अनुसार आएन। त्यसलाई स्वीकार गर्नुपर्छ, गर्छु। म साथीहरूको जितमा खुसी हुन्छु। मेरै हैसियत अनुसार पार्टी र देशका लागि काम गरिरहन्छु।’महामन्त्रीका प्रत्यासी डा. महतले भन्नुभयो ।

डा. महतले आफ्नो हारप्रति कसैलाई दोषारोपण नगर्ने बताउदै भन्नुभयो ‘महामन्त्रीमा मात्रै यस्तो नतिजा आएको छ। यसको समीक्षा हुनेछ’ । उहाँले आफू काममा विश्वास गर्ने भएकोले आउने दिनमा अझ उत्साहका साथ काम गर्ने बताउदै भन्नुभयो, मैले आफूलाई केन्द्रविन्दुमा राखेर काम गरेको छैन, पार्टी हितमा काम गर्छु।’

उहाँले सञ्चारकर्मी र इमान्दार साथीहरुको साथ र सहयोग पाउदा पाउँदै पनि त्यति मात्र विजयकोलागि पर्याप्त नभएकोले यो घट्नाले पार्टीको काममा समर्पित हुन थप ऊर्जा प्राप्त भएको र यसको उपयोग गरेर अघि बढ्ने बताउनुभयो ।

उहाँले आफूसंग प्रत्यक्ष भेट भएका मानिसहरुको आफूप्रति सदैव सद्भाव रहेको उल्लेख गर्दै पार्टीका साथीहरुको बीचमा जान यसले अवसर सिर्जना गरेको पनि बताउनुभयो । आफू राजनीतिमा केही पाइन्छ भनेर होइन, नेपाली कांग्रेसको आदर्श अनुरुपको समाज बनाउने ध्येयले लागेको हुनाले दुःख,सुख,अप्ठायारो र सप्ठ्यारो सबै परिस्थितिबाट विचलित नभइ निरन्तर लागिरहने पनि बताउनुभयो ।

डा.महतले पार्टी निर्माणको कार्य कठिन भएको बताउदै पार्टीलाई विचार र आस्थाको केन्द्रको रुपमा विकसित गराउनु पर्ने र त्यसलाई देश र जनतासंग जोड्नु पर्ने बताउनुभयो ।

संगठनको रुपान्तरणको लागि व्यक्ति केन्द्रित हैन, पार्टी, विचार र आस्थालाई प्रबर्धन गर्नुपर्ने उहाँको मत छ ।

उहाँले पार्टी बलियो भए सबै नेता र कार्यकर्ताको हैसियत र मान बढ्ने कमजोर भए घटने भएकोले पार्टी बलियो बनाउनु पर्ने उल्लेख गर्नुभयो । आफूले कहिल्यै पनि आफ्नो मात्र मार्केटिड. नगरेको बताउदै पार्टी सामूहिक प्रयासबाट बनाउन सकिने बताउनुभयो ।

सभापतिले मनोनित गर्न सक्ने संभावनाका बारेमा सोधिएको प्रश्नको जवाफमा पार्टी विधानले दिएको सभापतिको अधिकार हो भन्दै त्यसलाई आफूले सम्मान गर्ने बताउनु भयो ।

Share Now

Leave a comment.